
काठमाडौं जिल्ला अदालतले टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्री, गृहमन्त्री लगायतका विभिन्न नेताहरूलाई लक्षित गरि भिडियो बनाएको भन्दै उनलाई प्रहरीको साइबर ब्यूरोको टोलीले भक्तपुरबाट पक्राउ गरेको थियो ।
खोटाङको हलेसीतुवाचुङ नगरपालिका-६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय बस्नेत ब्यूरोकै हिरासतमा छन् ।
उनले ‘टिकटकमार्फत नियोजित रूपमा जातीय साम्प्रदायिक भावनामा खलल् पुर्याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाएर चरित्र हत्या गरेको विषयमा व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गरी पक्राउ’ गरेको ब्यूरोले जनाएको थियो ।
उनले आफ्नो पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गरेकी थिइन् ।