०८ असार २०८३, सोमबार

सामाजिक सञ्जालमार्फत ठगी र क्रिप्टो कारोबारमा संलग्न दुई युवक पक्राउ

असार १२, २०८२
काठमाडौं
सामाजिक सञ्जालमार्फत ठगी र क्रिप्टो कारोबारमा संलग्न दुई युवक पक्राउ

 सामाजिक सञ्जालमार्फत आर्थिक प्रलोभन देखाई ठगी गर्ने र अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको अभियोगमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुबै जनाको उमेर १९ वर्ष रहेको छ।

प्रहरीका अनुसार ‘समिर तामाङ’ नामक फेसबुक एकाउन्ट तथा टेलिग्राम समूह मार्फत विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने र अनलाइन रोजगारी दिलाइदिने जस्ता पोस्टहरू सार्वजनिक गर्दै उनीहरूले सर्वसाधारणलाई प्रलोभनमा पारेका थिए। सोही माध्यमबाट पीडितहरूलाई विभिन्न बैंक खातामा जम्मा गरी कुल २३ लाख १५ हजार रुपैयाँ ठगी गरिएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा काठमाडौँको माइतीघर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार समेत गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ।

हाल उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुई युवकहरूमा धादिङको थाक्रे गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्दै आएका समिर तामाङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने क्रिस पोखरेल रहेका छन्।

प्रहरीले उक्त घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्