०६ साउन २०८३, बुधबार

बागमती प्रदेशको बजेट सेटिङमा ल्याइएको भन्दै तीन विपक्षी दलको कडा आपत्ति

असार १६, २०८२
काठमाडौं
बागमती प्रदेशको बजेट सेटिङमा ल्याइएको भन्दै तीन विपक्षी दलको कडा आपत्ति

आर्थिक वर्ष २०८२/८३ को बागमती प्रदेश बजेट सेटिङ, विभेद र असन्तुलनमा आधारित रहेको भन्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन प्रमुख विपक्षी दलहरूले संयुक्त रूपमा कडा आपत्ति जनाएका छन्।

नेकपा (एकीकृत समाजवादी)का नेता बसन्त मानन्धर, राप्रपाका उपनेता गिर बहादुर तामाङ र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्न प्रसाद ढकालले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले बजेट निर्माणदेखि कार्यान्वयनसम्म गम्भीर नीतिगत त्रुटि गरेको आरोप लगाएका हुन्।

विपक्षी दलहरूले बजेट तय हुने दिन असार १ गते नै सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको दाबी गरेका छन्। विज्ञप्तिमा आर्थिक मामिला मन्त्री र सचिवबीचको विवाद सार्वजनिक भएको र मन्त्रालयहरूबीच समन्वयको अभाव देखिएको उल्लेख गरिएको छ। त्यसले सत्ता गठबन्धनभित्र गहिरो असमझदारी रहेको प्रमाणित भएको उनीहरूको ठहर छ।

बजेट पेश भए पनि उसमाथि समयमै छलफल हुन नसकेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

“दलहरूबीच कुनै समझदारी, परामर्श वा जानकारी नगरी सरकार बैठक सार्न थालेको छ, जुन अलोकतान्त्रिक प्रवृत्ति हो,” विज्ञप्तिमा भनिएको छ। बजेट सेटिङमा आधारित, विभेदकारी र असन्तुलित भएको आरोप लगाउँदै उनीहरूले बजेट सच्याएर मात्र समाधान सम्भव हुने स्पष्ट पारेका छन्।

विपक्षी दलहरूले प्रदेशसभालाई बन्धक बनाउने र छलफलबाट भाग्ने कार्य बन्द गरी तुरुन्त संवादमा आउन सरकारसँग माग गरेका छन्। अन्यथा नैतिकताको आधारमा सरकारलाई मार्ग प्रशस्त गर्न चेतावनीसमेत दिइएको छ।

salt training

कमेन्ट गर्नुहोस्