०३ साउन २०८३, आइतबार

लुम्बिनी सरकारको सञ्चित कोषमा रकम सकियो, सबै खाताबाट भुक्तानी रोक्का

असार १७, २०८२
बुटवल
लुम्बिनी सरकारको सञ्चित कोषमा रकम सकियो, सबै खाताबाट भुक्तानी रोक्का

सञ्चित कोषमा रकम सकिएपछि लुम्बिनी प्रदेश सरकारले भुक्तानी रोकेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार राति १२ बजेपछि सरकारका सबै खाताबाट भुक्तानी रोक्का गरेको हो ।

घाटा बजेट ल्याएका कारण लुम्बिनी प्रदेश सरकारले गत वर्ष पनि असार २२ गतेपछि भुक्तानी रोकेको थियो । गत वर्षको २ अर्ब १९ करोड रकम चालु आवमा भुक्तानी गरिएको थियो । 

चालु आवमा पनि घाटा बजेट भएकै कारण खातामा रकम सकिएपछि भुक्तानी रोक्नु परेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए ।

आइतबार रातिसम्म सरकारको खातामा ३५ करोड रुपैयाँ मात्र बचत छ । त्यसमध्ये पनि चालु तर्फको केही बजेट सोमबार पनि भुक्तानी भएर खातामा रकम घटेको छ । 

लुम्बिनी प्रदेश सरकारले चालु आवका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । त्योमध्ये पुँजीगत तर्फको २४ अर्ब ५८ करोडमध्ये आइतबारसम्ममा १७ अर्ब २९ करोड खर्च भएको छ । 

त्यस्तै, चालुतर्फको ११ अर्ब २४ करोडमध्ये ७ अर्ब ४ करोड खर्च भएको छ । स्थानीय तहमा जाने ३ अर्ब १४ करोडमध्ये २ अर्ब ४१ करोड भुक्तानी भएको छ ।

चालु आवमा भुक्तानी गर्न नसकेपछि प्रदेश सरकारलाई आगामी वर्ष कम्तीमा २ अर्ब भुक्तानी दायित्व थपिएको छ । प्रदेशले चालु आवमा आन्तरिक स्रोतबाट ४ अर्ब ७१ करोड राजश्व संकलनको लक्ष्य राखेको थियो । 

त्योमध्ये पनि अहिलेसम्म १ अर्ब ५० करोड पनि संकलन हुन सकेको छैन । लक्ष्य अनुसारको आन्तरिक राजश्व पनि संकलन हुन नसकेपछि सरकारको सञ्चित कोषमै रकम सकिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्