१२ साउन २०८३, मंगलबार
निजामती विधेयकमा छेडखानी

विधेयकमा गम्भीर षड्यन्त्र भयो, समिति सभापतिले राजीनामा दिनुपर्छ– एमाले सांसद गिरी

असार १७, २०८२
काठमाडौं
विधेयकमा गम्भीर षड्यन्त्र भयो, समिति सभापतिले राजीनामा दिनुपर्छ– एमाले सांसद गिरी

सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)का प्रभावशाली सांसद पदम गिरीले संघीय निजामती ऐन पारित गर्दा गरिएको बदमासीको जिम्मा समिति सभापतिले लिनुपर्ने बताएका छन् । 

यो विषय छानबिन नहुँदासम्म राज्य व्यवस्था समितिको बैठक बस्न नसक्ने उनले बताए । सभामुखसँग मंगलवार भएको छलफलपछि एमाले नेता गिरीले समितिमा एकथरि सहमति गरेर अर्कोथरि प्रतिवेदन बनाउनेहरू कारबाहीको भागीदार हुनुपर्ने बताएका हुन् ।

‘लामो छलफल गरेर २ वर्षका लागि कुलिङ पिरियड राख्ने सहमति भएको थियो । मुख्यसचिव, सचिव र सहसचिवको हकमा लागि नहुने भनेर मिलाइने विषय गम्भीर षड्यन्त्र हो, त्यस्तो कार्य कारबाहीको विषय हुनुपर्छ,’ गिरीले भने, ‘संसद्को समितिबाट निष्कर्षमा पुगेपछि जे सहमति भएको थियो, जस्ताको तस्तै जानु पर्थ्यो । गलत काम गर्नेले नैतिकताका आधारमा आफ्नो ठाउँ छाड्नु पर्छ ।’ 

गिरिले नाम नलिई समिति सभापति रामहरि खतिवडाले राजीनामा गर्नुपर्ने बताए । ‘यो विषय छानबिनपछि टुंगो लगाउनु पर्छ, टुंगो नलागेसम्म समितिको बैठक राख्न मिल्दैन । जिम्मेवार व्यक्तिले नैतिकताका आधारमा आफ्नो ठाउँ छाड्नु पर्छ,’ गिरिले भने । 

सभामुखले पनि यसको छानबिन गरौं भनेको गिरीले बताए । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी)ले पनि यो घटनाको छानबिन गर्न माग गरेको छ । 

आइतवार प्रतिनिधि सभाबाट पारित संघीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्