३० जेठ २०८३, शनिबार

वायुसेवा निगमको ६७औं वार्षिकोत्सवमा डाटा सेन्टर उद्घाटन र प्रभातफेरी

असार १७, २०८२
काठमाडौं
वायुसेवा निगमको ६७औं वार्षिकोत्सवमा डाटा सेन्टर उद्घाटन र प्रभातफेरी

नेपाल वायुसेवा निगमले आफ्नो ६७औं वार्षिकोत्सव मनाएको छ । सप्ताहव्यापी कार्यक्रमपश्चात निगमको केन्द्रीय कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम मनाएको हो । 

वार्षिकोत्सवको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेसँगै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आकाश भैरव पूजा गरेका थिए । 

वार्षिकोत्सवको अवसरमा मन्त्री पाण्डेले निगमको नवनिर्मित डाटा सेन्टरको उद्‌घाटनसमेत गरेका थिए । तत्पश्चात् निगमको केन्द्रीय कार्यालयबाट शुरू भएको प्रभातफेरी कार्यक्रममा मन्त्रीसहित कार्यकारी अध्यक्ष अधिकारी तथा उपस्थित कर्मचारीहरू सहभागी भई भूगोल पार्क, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालय परिसरमै आएर प्रभातफेरी कार्यक्रम सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले निगम ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको बताए । यसको विकासका लागि सरकार सधैं साथमा रहने उनले प्रतिबद्धता जनाए । 

निगम व्यवस्थापन तथा कर्मचारीहरूलाई वस्तुपरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न उनले निर्देशनसमेत दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीले हालसम्म गरेका उपलब्धिमूलक कार्यहरूको जानकारी दिएका थिए । सम्बोधनका क्रममा उनले सार्वजनिक खरिद विनियमावली नै निगमको प्रगतिको मुख्य बाधक भएको बताए । 

विनियमावली संशोधनका पहल गरिदिन उनले मन्त्री पाण्डेलाई आग्रह गरे । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लोपटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्वीनअटर विमान छन् । विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ । 

 

 

salt training

कमेन्ट गर्नुहोस्