
विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्नेसम्बन्धी गृहमन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच सम्झौता भएको छ ।
गृहमन्त्री रमेश लेखकको रहोबरमा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार हवाई उद्धारका लागि सम्झौता भएको हो ।
समझदारीअनुसार संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क रूपमा हेलिकप्टर परिचालन गर्ने/गराउने व्यवस्था मिलाउने छ ।
त्यसैगरी विपद्को समयमा नागरिकहरूको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजी हेलिकप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउँदै परिचालन गरिनेछ ।
वायुसेवा सञ्चालक संघले विपद्को समयमा खोज तथा उद्धार गर्ने/गराउने कार्यका लागि दैनिक रूपमा पालो तोक्ने छ ।
त्यस्तै हेलिकप्टर कम्पनी र सम्पर्क गर्ने व्यक्तिको विवरण नियमित रूपमा अद्यावधिक गरी सोको जानकारी गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराउने समझदारी बनेको गृह मन्त्रालयले जनाएको छ ।
त्यसैगरी दैनिक पालो तोकिएका र तयारी अवस्थामा राखिएका निजी हेलिकप्टर सेवा प्रदायकले गृह मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा तत्काल विपद्ग्रस्त क्षेत्रमा हवाई उडान गरी खोज तथा उद्धार गर्नुपर्नेछ । गृह मन्त्रालयमार्फत उद्धार उडानका लागि आवश्यक समन्वय र सहजीकरणका लागि नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी गराइने छ ।
त्यसैगरी काठमाडौं उपत्यका बाहिर खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नुपरेमा हेलिकप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्य नजर गरी हेलिकप्टर सञ्चालनको न्यूनतम खर्चमा परिचालन गर्ने र हेलिकप्टर प्रयोग बापतको रकम बिल तथा विपद्का घटनाको खोज तथा उद्धारमा उडान भएको प्रमाणित कागजात मन्त्रालयबाट भएको आदेश लगायतका कागजातहरू प्राप्त भएपश्चात् प्राधिकरणले भुक्तानी दिने प्रबन्ध गरिएको छ ।