
मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक व्यवसायी कारागार चलान भएका छन् ।
आन्तरिक राजस्व कार्यालय, विराटनगरले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग/बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्वल’का प्रोप्राइटर सौरभकुमार बियानीलाई थुनामा पठाएको हो ।
आन्तरिक राजस्व कार्यालयले यही असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो। बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ विपरीत कर छली गरेको ठहर कार्यालयको छ ।
बियानीले कुल १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५८४ रुपैयाँ बराबरको राजस्व छली गरेको जनाइएको छ ।
राजस्व छलीको उक्त रकम बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि कार्यालयले अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय, मोरङलाई पत्राचार गरेको हो ।
