
संघीय निजामती विधेयक २०८२ मा भएको छेडखानीको विषयलाई लिएर प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ ।
बुधबार बसेको बैठकमा सांसदहरूले संसदीय समितिबाट सर्वसम्मत र संसद्को फुलहाउसबाट पारित भएको विधेयकमा छेडखानी भएको भन्दै आपत्ति जनाएका हुन् ।
सांसदहरूले समिति सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज दुरासँग प्रश्न गरे । एमाले सांसद पदम गिरीले सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताए ।
नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले समिति सभापति र सचिव दुराले समिति छाड्नुपर्ने बताए । ‘समितिमा जे भयो नि, त्यो गल्ती होइन, जानीजानी गरेको त्रुटिलाई अपराध भनिन्छ,’ श्रेष्ठले भने ।
प्रतिवेदनमा घुसाइएको ३ वटा अक्षरले विधेयकको आत्मा मारिएको उनले बताए ।
नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले विधेयकमा छेडखानी भएको विषय संसदीय इतिहासको कालो दिन भएको बताइन् । कर्मचारीले गरेको घातका कारण सांसदहरूको बदनामी भएको उनको भनाइ छ ।
कांग्रेसकै दीलेन्द्रप्रसाद बडूले विधेयकमा भएको गडबडीबारे अधिकार सम्पन्न छानबिन समिति गठन गर्नुपर्ने बताए ।
माओवादी केन्द्रका हितराज पाण्डेले विधेयकमाथि भएको घात अस्वीकार्य रहेको बताए । समिति बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल सरकारका सचिवहरू उपस्थित छन् ।