
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेको छ ।
बैठक शुरू भएलगत्तै रास्वपा सांसद सोविता गौतमले धारणा राखेपछि सो पार्टीले बैठक बहिष्कार गरेको हो ।
बैठकको शुरूमा गौतमले रसुवामा गएको बाढीले ठूलो क्षति पुर्याएको भन्दै राहत र उद्धारमा द्रूतरूपमा खटिन सरकारको ध्यानाकर्षण गराइन् ।
भिजिट भिसा दुरुपयोगमा उच्चस्तरीय छानबिन समिति वा संसदीय समिति गठन गर्नको लागि सरकारले छाती चौडा नबनाएको भन्दै रास्वपाले बैठक बहिष्कार गर्ने बताइन् ।
‘टालटुले प्रशासनिक समिति बनाएकोमा हाम्रो खेद छ, हाम्रो आपत्ति छ । स्पेनको कार्यक्रममा समेत केही मानिस गएर नफर्किएको समाचार आएका छन्,’ गौतमले भनिन्, ‘नेपालको छवि जोडिएको विषयमा छानबिन समिति बनाउन सरकारको छाती चौडा रहेनछ । त्यसैले हामी आजको बैठक पनि बहिष्कार गर्छौं ।’
राप्रपाका ज्ञानेन्द्र शाहीले पनि संख्याको आधारमा नभई अपराधका आधारमा भिजिट भिसा दुरुपयोगमा छानबिन समिति गठन गर्न माग गरे ।