
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीसँग स्पेन भ्रमणमा गएका नफर्किएको दाबी गरेपछि प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा गौतमले ‘स्पेनको कार्यक्रममा समेत केही मानिस गएर नफर्किएको समाचार आएका छन्’ भनेकी थिइन् ।
यसपछि प्रधानमन्त्रीको सचिवालयले भ्रमणमा जानेको सूची सार्वजनिक गर्दै को नफर्किएको हो बताइदिन चुनौती दिएको हो ।
‘माननीय सोविता गौतमले यो सूची हेरेर नफर्केको को भनेर बताइदिनुस्,’ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘नभए आफ्ना फेसबूक गुरिल्लाहरूका लागि कन्टेन्ट बनाउन मात्र संसद्को समय दुरुपयोग नगर्नुस् ।’
प्रधानमन्त्रीको सचिवालयले नेपालबाट प्रधानमन्त्री, विभिन्न मन्त्रालय, सुरक्षाकर्मी, सञ्चारकर्मीसहित नेपालबाट २० जना, स्पेनबाट राजदूतसहित ३ जना र संयुक्त राष्ट्रसंघको स्थायी नियोगबाट ५ जना गरी जम्मा २८ जना सहभागी भएको जनाएको छ । स्पेन भ्रमणको खर्च आयोजकले नै ब्यहोरेको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालबाट २० जनाको टोली गएकोमा फर्किने बेला राजदूतावासबाट थप २ जना पनि फर्किएका छन् ।
भिजिट भिसा दुरुपयोगको छानबिन गर्न उच्चस्तरीय समिति वा संसदीय छानबिन समिति गठन नगरेको भन्दै रास्वपाले निरन्तर संसद् बैठक बहिष्कार गर्दै आएको छ ।
मंगलबार पनि गौतमले छानबिन समिति गठन नभएकाले पार्टीले बैठक बहिष्कार गरेको बताइएकी थिइन् ।
यस्तो छ सूची
