
नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले जापानको भिसा (सीओई) पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
जान नामक संस्थामार्फत् विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको विभिन्न तथ्य मिडियामार्फत् उजागर भएको भन्दै उनले यसमा सरकारको ध्यानाकर्षण गराइन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले यो सिन्डिकेट तुरुन्त खारेज गर्न,
यसमा संलग्न व्यक्तिमाथि कानूनी कारबाही गर्न र वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउन माग गरेकी हुन्।
‘यो विषयमा पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही भएन । त्यसैले अहिले आएर अधिकारवादीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्’, सांसद गौतमले भनिन् ।
उनले देशका युवाहरू भिसा लिएर पनि विदेश जान नपाएका उल्लेख गरिन् । ठूलो लगानी गरेर भाषा पास गरेका, सीओई पाएका तर फेरि नेपालमै रोकिएर अनावश्यक परीक्षा दिन बाध्य ती युवाहरू अहिले हतास, निराश र आक्रोशित रहेका सांसद गौतमले बताइन् ।
‘उनीहरूको आत्मबल कमजोर बनाइएको छ । भविष्यमाथि प्रश्न उठाइएको छ । हजारौं युवाको रोजगार सपनासँग जोडिएको यो विषयमा सरकार टुलटुल हेरेर चुप रहन मिल्दैन’, सांसद गौतमले भनिन् ।