
नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ ।
ति मध्ये हेलिकप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरूमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू र सुरेश थारू र बागलुङका नरेश विक रहेका छन् ।
यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामाका साथै ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् ।
यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छि हुँदै विभिन्न १७ स्थानमा दुई सय ९४ जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हासम्म त्रिशुली नदीको विभिन्न चार स्थानमा मानव अङ्ग फेला परेको बताइएको छ ।
प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली नेतृत्वको टोली
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ लागेका छन् ।
प्रधानमन्त्री ओलीका साथमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल छन् ।
यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा गएका हुन् ।














