१४ असार २०८३, आइतबार

साउदी क्लब अल–अहलीसँग छलफल गर्दै मेसीका प्रतिनिधि​

असार २४, २०८२
काठमाडौं
साउदी क्लब अल–अहलीसँग छलफल गर्दै मेसीका प्रतिनिधि​

अर्जेन्टिनी फूटबल स्टार लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी छाडेर साउदी व्यावसायिक लिग क्लबमा आबद्ध हुने तयारीमा रहेको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।

पछिल्लो समय मेसीका प्रतिनिधिले साउदी अरेबियन क्लबसँग छलफल गरिरहेको समाचारमा जनाइएको छ । समाचारमा दाबी गरिएअनुसार, ३८ वर्षीय मेसीका प्रतिनिधिले साउदी अरेबियन क्लब अल–अहलीसँग वार्ता गरिरहेका छन् ।

कीर्तिमानी रूपमा आठपटकका बालन डी’ओर विजेता मेसी हाल इन्टर मियामीमा आबद्ध छन् । इन्टर मियामीसँग उनको सम्झौता अवधि सन् २०२५ को अन्त्यमा सकिँदैछ । सम्झौता सकिने समय नजिकिएसँगै मेसीको आगामी गन्तव्यलाई लिएर विभिन्न अनुमान शुरू भएको छ ।

उनी सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएका थिए । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका लागि उनले ६४ खेल खेल्दै कुल ५२ गोल गरिसकेका छन् । उनले २५ गोलका लागि आफ्ना साथीहरूलाई पास पनि उपलब्ध गराएका छन् ।

फ्रान्सेली सञ्चारमाध्यम एल’इक्विपका अनुसार, अल–अहलीका अधिकारीहरू मेसीलाई भित्र्याउन बढी इच्छुक देखिएका छन् । मेसी साउदी अरेबियन व्यावसायिक लिगमा आबद्ध हुने चर्चा पहिलोपटक चलेको होइन ।

यसअघि सन् २०२३ मा पनि मेसी साउदी व्यावसायिक लिगमा आबद्ध हुने चर्चा चलेको थियो । त्यतिबेला उनी साउदी क्लब अल–हिलालमा आबद्ध हुने बताइएको थियो । तर, ती सबै अनुमानलाई गलत सावित गर्दै उनी अमेरिकी क्लब इन्टर मियामीसँग जोडिएका थिए ।

त्यसपछि अल–हिलालले ब्राजिलियन स्टार नेमार जुनियरसँग सम्झौता गरेको थियो । अहिले फेरि मेसी साउदी क्लबमा आबद्ध हुने चर्चा शुरू भएको छ ।

समकालीन विश्व फूटबलका अर्का महान खेलाडी क्रिस्टियानो रोनाल्डो पनि हाल साउदी व्यावसायिक लिगमै आबद्ध छन् ।

पोर्चुगिज स्टार रोनाल्डो अल–नासरमा आबद्ध छन् । रोनाल्डोले पनि सन् २०२३ मै अल–नासरसँग सम्झौता गरेका हुन् । अहिले आएर मेसी पनि साउदी क्लबमा आबद्ध हुने चर्चा शुरू भएपछि विश्व फूटबल तरंगित भएको छ ।

समकालीन विश्व फूटबलमा एक–अर्काका चिरप्रतिद्वन्द्वीका रूपमा परिचित मेसी र रोनाल्डो कुनै समय स्पेनका दुई फरक क्लबमा आबद्ध थिए । रोनाल्डो रियल म्याड्रिड र मेसी बार्सिलोनाबाट व्यावसायिक फूटबल खेल्थे ।

त्यतिबेला यी दुई खेलाडीको प्रतिद्वन्द्वीताका कारण स्पेनिस लिग निकै चर्चित बनेको थियो । मेसीसँग वार्ता गरिरहेको भनिएको साउदी क्लब अल–अहलीमा हाल रोबर्टो फर्मिनो, रियाद माहरेज, एडुआर्डो मेन्डी, इभान टोनीजस्ता प्रभावशाली खेलाडी आबद्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्