१२ साउन २०८३, मंगलबार
बालुवाटारमा ओली-देउवा संवाद

बालुवाटार बैठकमा विद्या भण्डारीको चर्चा– ओलीसामु देउवाले उठाए गम्भीर सवाल !

असार २४, २०८२
काठमाडौं
बालुवाटार बैठकमा विद्या भण्डारीको चर्चा– ओलीसामु देउवाले उठाए गम्भीर सवाल !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरेको विषयमा गम्भीर चासो राखेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दुई दलका शीर्ष नेताको मंगलबार बालुवाटारमा बसेको बैठकमा देउवाले पूर्व राष्ट्रपति भण्डारी पुन: सक्रिय राजनीतिमा फर्किने भनेर गरेको घोषणाबारे चासो राखेका हुन् ।

समसामयिक राजनीति, बाढीपहिरोको विपत्ति र प्रधानमन्त्रीको स्पेन भ्रमणको प्रसंग सकिएपछि देउवाले भण्डारीबारे चासो व्यक्त गरेको स्रोतको दाबी छ ।

सात दिनसम्म चलेको कांग्रेस बैठकमा समेत भण्डारीको विषयलाई ‘नोटिसमा राख्न’ दबाब परेको भन्दै देउवाले गम्भीर चासो राखेको स्रोतको दाबी छ । देउवाले ‘सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टीको सदस्य हुन्छ ?’ भन्दै ओलीसामु प्रश्न राखेको स्रोतको दाबी छ ।

‘विद्या भण्डारीको यो के हो ? हाम्रै बैठकमा पनि पदाधिकारीसहितका थुप्रै नेताले पूर्व राष्ट्रपति राजनीतिमा फर्किएको विषयलाई नोटिसमा राख्नुपर्छ भन्ने कुरा उठाउनुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कुनै पार्टी बलियो होला भनेर होइन, हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ भनेर पनि होइन । सेनाको परामाधिपति भइसकेको व्यक्ति पार्टीको सदस्य हुन्छ ?’

सभापतिसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि ‘स्ट्रोङ्गली’ भण्डारीको विषयमा कुरा उठाएको स्रोतले दाबी गर्‍यो । उनले राज्यको सर्वोच्च पदमा पुगेको व्यक्ति सम्मानित भएर बस्नुपर्नेमा गलत नजिर स्थापित हुनु राम्रो नभएको बताएका थिए ।

देउवाले सम्मानित राष्ट्रपति भइसकेपछि प्रणालीलाई नै भताभुङ्ग पार्ने गरी लोभ गर्दा समेत किन सदस्यता दिएको भनेर समेत प्रश्न उठाएका थिए ।

‘प्रणालीलाई भताभुङ्ग पार्न पाइन्छ ? तपाईंहरूले पार्टी सदस्यता किन भताभुङ्ग पारेको हो ?,’ देउवाले ओलीसँग भनेका थिए, ‘राष्ट्रप्रमुख सेनाको परामाधिपति हुने भनेको अरूलाई असर नपुगोस् भनेर हो । सुरक्षा दिएको पनि पदको दुरुपयोग नहोस् भनेर हो । तर, उहाँले के लोभ गरेको हो ? पार्टीले पनि किन सदस्यता दिएको हो ?’

जवाफमा प्रधानमन्त्री ओलीले भण्डारीले सदस्यता नवीकरण गरेपछि मात्रै आफूले थाहा पाएको बताएका थिए । ‘उहाँले  सदस्यता नवीकरण गरेपछि मात्रै थाहा भयो । म पनि अरूलाई बानी लाग्ला कि भनेर राष्ट्रप्रमुख राजनीतिमा आउनुहुँदैन भन्ने मान्यतामा छु । यो विषयमा पार्टीमा छलफल भएको छैन । हामीले कुनै निर्णय गरेका पनि छैनौं । उहाँले घोषणा गर्नुभयो । उहाँ आफैंले इच्छा गरेपछि गाह्रो हुँदोरहेछ ।’

भण्डारीले असार १४ गते मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममार्फत सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । पार्टी सदस्यता नवीकरण गरिसकेको उनको उद्घोष थियो ।

भण्डारीबारे कांग्रेस बैठकमा पनि प्रश्न

कांग्रेसमा विमलेन्द्र निधि, विश्वप्रकाश शर्मासहितका प्रभावशाली नेताहरूले राष्ट्रपति भइसकेको व्यक्ति पुन: राजनीतिमा फर्किएको भन्दै आपत्ति नै जनाएका थिए ।

दुवै नेताले यो विषयलाई नोटिसमा राख्नुपर्ने विषय उठाएका थिए । बैठकपछि पार्टी निर्णयमा भण्डारीको विषयलाई राख्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

‘रिटायर्ड राष्ट्रपति राजनीतिमा फर्किने कुराले एमालेलाई प्रभाव पर्ला । तर, यो एउटा पार्टीको मात्र विषय होइन, प्रणालीसँग सम्बन्धित विषय हो । हामीले ल्याएको प्रणालीमा विश्वास गर्छौं,’ निधिले भनेका थिए, ‘एमाले विभाजन होला भनेर हामीलाई खुशी लाग्ला । टुक्राटुक्रा होला भन्ने लाग्ला । एमालेमा के होला भन्ने एउटा कुरा हो । तर, समग्रमा राजनीतिक प्रणालीको विषय कांग्रेसले नोटिसमा लिने कि नलिने ? यो विषयमा छुट्टै छलफल हुनुपर्छ ।’

महामन्त्री विश्वप्रकाश शर्माले पनि सोमबारको बैठकमा पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउने विषयलाई कांग्रेसले सामान्य रूपमा लिन नहुने बताएका थिए ।

‘राष्ट्रपति संस्थाको गरिमा उच्च ढंगले स्थापित गर्न सकिएको छैन । एक दशकपछि पूर्वराष्ट्रपति राजनीतिमा आएपछि यो विषयमा विधिवत् रूपमा डकुमेन्टमा बोल्नुपर्छ । यस पछाडिका विषयमा गाम्भीर्यता राख्नुपर्ने हुन्छ,’ शर्माले भनेका थिए, ‘देशले अभिभावकविहीनताको अनुभूति गर्न सक्छ । पूर्व राष्ट्रपतिलाई अभिभावक मान्नुपर्ने हुन्छ । हामीसँग राष्ट्रपति र प्रधानमन्त्रीका उम्मेदवारको अभाव छैन । तर, समाजमा नायक खोज्ने मनोविज्ञान हुर्किँदा हामीले यस्ता विषयतर्फ पनि ख्याल गर्नुपर्छ ।’

अरू थुप्रै केन्द्रीय सदस्यले पनि संवैधानिक राष्ट्रपति राजनीतिमा आउने विषय अनुचित भएका थिए । नेताहरूले यो विषयलाई नोटिसमा राख्न ध्यानाकर्षण गराएका थिए । तर, पार्टीबाट निर्णय नगरे पनि कांग्रेसले ओलीसँग यो विषयमा छलफल गरेको हो ।

पढ्नुहोस्, यो पनि :

संशय बढाउने गरी कुन हैसियतमा र किन भेटिन् विद्याले बालेन र नारायणकाजी ?
 

कमेन्ट गर्नुहोस्