०२ साउन २०८३, शनिबार
बाढीपछिको बेहाल

रसुवागढी नाका क्षतविक्षत, ७ जनाको शव भेटियो, १८ जना अझै सम्पर्कविहीन

असार २४, २०८२
काठमाडौं
रसुवागढी नाका क्षतविक्षत, ७ जनाको शव भेटियो, १८ जना अझै सम्पर्कविहीन

मित्रराष्ट्र चीन र नेपाल जोडिने रसुवागढी नाकामा मंगलबार बिहानै बाढीले तहसनहस बनायो । नेपाल र चीन जोड्ने मितेरी पुलमा क्षति हुँदा दुईतर्फी आवागमन बन्द भएको छ भने १८ जना बेपत्ता भएका छन् । 

बिहान एक्कासी नेपाल–चीन सीमामा रहेको लेन्दे (भोटेकोशी) खोलाबाट आएको बाढीले नेपालतर्फ ठूलो क्षति भएको छ । रसुवागढी नाकाको सुक्खा बन्दरगाहमा राखिएका केही विद्युतीय गाडी (ईभी) र कन्टेनरसहित करिब १०० वटा गाडी बगाएको अनुमान गरिएको छ । यद्यपि, यकिन तथ्यांक अझै आइसकेको छैन ।

जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका हालसम्म १८ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा तीन जना प्रहरी, ९ जना सर्वसाधरण र ६ जना चिनियाँ नागरिक छन् ।

सेना, प्रहरी, सशस्त्र प्रहरीले हालसम्म बाढीमा फसेका ५७ जनाको उद्धार गरिसकेको छ । दाउरा खोज्न घरबाट केही परको खोलामा पुगेका नुवाकोटको विदुर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया श्रीमती मंगलीमाया तामाङले करिब १ घण्टा सिसौको रुखमा चढेर ज्यान जोगाएका थिए । सेनाको हेलिकप्टरमार्फत् उनीहरूको उद्धार भयो । 

null

सुरक्षाकर्मीहरूले रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदारको पनि उद्धार गरेका हुन् । सशस्त्र र नेपाल प्रहरीसँग समन्वय गरेर हेलिकप्टरमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उद्धारका लागि दिनभर सेनाको एनए-०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको थियो ।

सम्पर्कविहीन भएकाहरूको खोजीमा धादिङस्थित नम्बर–६ बाहिनी अड्डाबाट सेनाको टोलीलाई गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवास्थित श्रीनाथ गणको टोली स्याफ्रुवेशी इलाकातर्फ परिचालन गरिएको थियो । सेनासँगै प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका थिए ।

घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक कृष्णबहादुर धितालका अनुसार भन्सार यार्डमा रहेका मालवाहक कन्टेनरका डिब्बा बगाएको छ । उनका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा ठूलो क्षति पुगेको छ । 

नदीमा पानीको बहाव कम भएपनि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रहरी निरीक्षक धितालका अनुसार अहिलेसम्म ७ जनाको शव फेला परेको छ ।

बाढीले रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुमा रहेको बेलिब्रिज समेत बगाएको छ । सेनाको पोस्ट अगाडि रहेको बेत्रावती–स्यफ्रुवेशी नयाँ सडक खण्डमा पर्ने त्रिशूलीको बेलिब्रिज बगाएपछि स्थानीयको आवतजावत रोकिएको छ । भर्खरै बनाइएको पक्कीपुल लेदोले छोपिएको छ ।

प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म बाढीस्थलमा

सबै कार्यक्रम रोकेर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायत सरकारका उच्चपदस्थहरू बाढीस्थलमा पुगेर निरीक्षण गरेका छन् । 

प्रधानमन्त्री ओलीले उद्धारमा केन्द्रित रहने र उद्धारपछि राहत र पुनर्निर्माणमा जोड दिने बताएका छन् । उनले रसुवाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिँदै उद्धारमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

ओलीले उद्धार गरिएकालाई बासस्थानको प्रबन्ध गरी राहत उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले पनि सुरक्षा निकायलाई निर्देशन दिँदै उद्धार र बेपत्ताको खोजीमा लाग्न निर्देशन दिएका छन् । 

कहाँ के क्षति ?

  • नेपाल–चीन जोड्ने मितेरी पुल पूर्णरुपमा क्षति
  • स्याफ्रुबेशी-रसुवागढी सडक बगायो
  • रसुवा भन्सारको यार्डमा क्षति
  • ईभी चार्जिङ स्टेसन
  • रसुवागढी जलविद्युत आयोजना ड्याममा क्षति
  • रसुवा भन्सार कार्यालयमा क्षति
  • सुक्खा बन्दरगाहमा क्षति
  • ट्रक, कन्टेनर र ईभीसहित करिब १०० गाडी बगायो

null
पहिचान खुलेका १५ सम्पर्कविहीन व्यक्ति :

  • प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
  • प्रहरी जवान मुन्ना ठाकुर
  • प्रहरी जवान लोकेन्द्र बोहोरा
  • चिनियाँ नागरिक यु युई
  • चिनियाँ नागरिक लि हुवाछिङ
  • चिनियाँ नागरिक याङ छुवान
  • चिनियाँ नागरिक यु हाई हाङ
  • चिनियाँ नागरिक यु स्याओ छिउ
  • चिनियाँ नागरिक चोउ योङ
  • बर्दियाका जिपन चौधरी
  • बर्दियाकै सन्तोष दइत
  • बर्दियाकै बुद्धिराम थारु
  • बर्दियाकै लक्ष्मी नारायण थारु
  • बर्दियाकै सुरेश थारु
  • बाग्लुङका नरेन्द्र विक
  • सिन्धुपाल्चोकका फूर्वा लामा
  • सिन्धुपाल्चोककै गोविन्द मोक्तान
  • ठेगाना नखुलेका लोकमान तामाङ

salt training

कमेन्ट गर्नुहोस्