
इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि नजिक पुगेको छ । ब्राजिलको फ्लुमिनेन्सलाई २-० ले हराउँदै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो ।
चेल्सीलाई जिताउन ब्राजिलियन फरवार्ड जोआओ पेड्रोले दुवै गोल गरे । उनी गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका थिए ।
१८औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले दोस्रो हाफको ५६ औं मिनेटमा दोस्रो गोल गरे ।
एन्जो फर्नान्डेजको पासलाई उनले शक्तिशाली प्रहारमा गोल गरेका थिए ।
फ्लुमिनेन्सले अन्त्यतिर पाएका अवसर सदुपयोग गर्न नसक्दा अपराजित यात्रामा पूर्णविराम लाग्यो ।
फाइनल आइतबार हुनेछ ।