२१ असार २०८३, आइतबार

पूर्वराजदूत सुन्दासलाई 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार'

असार २५, २०८२
काठमाडौं
पूर्वराजदूत सुन्दासलाई 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार'

दलित आन्दोलनका अग्रज  तथा पूर्वराजदूत पदम सुन्दास यस वर्षको प्रतिष्ठित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार'बाट सम्मानित भएका छन् । 

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित १ लाख १० हजार राशिको यो पुरस्कार सोमबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दासज्यूलाई हस्तान्तरण गरेका हुन् । 

सामाजिक न्याय, समानता र समावेशिताको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै मानव अधिकार तथा शान्ति समाजले पूर्वराजदूत सुन्दासलाई यो पुरस्कार प्रदान गरेको हो । सुन्दास समता फाउन्डेसनका संस्थापक अध्यक्ष तथा बहराइनका लागि नेपालका पूर्वराजदूतसमेत हुन् ।

राष्ट्रपति पौडेलले सामाजिक न्यायको लामो र कठिन यात्रामा पदम सुन्दासले देखाएको अथक प्रतिबद्धता र नेतृत्वको प्रशंसा गरे । यो पुरस्कारले सामाजिक रूपान्तरणका लागि व्यक्तिगत जीवनको बलिदान र समर्पणलाई पनि उच्च सम्मान गरेको सन्देश दिएको छ । 

null

विसं. २००२ साल असार ३२ गते भोजपुरमा जन्मिएका पदम सुन्दास विगत ६ दशकभन्दा बढी समयदेखि सामाजिक न्यायका क्षेत्रमा निरन्तर क्रियाशील छन् । सिभिल इन्जिनियरिङमा डिप्लोमा हासिल गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन संयन्त्रको राष्ट्रिय सल्लाहकार समिति सदस्यका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विशेषगरी २०७२ सालमा दलितमैत्री संविधान निर्माणका लागि गरिएको तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा उनले नागरिक समाजको संयोजकको रूपमा नेतृत्वदायी भूमिका खेलेका थिए । 

मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि निरन्तर संघर्षरत व्यक्तित्वहरूलाई सम्मान गर्ने आफ्नो परम्परा कायम राख्दै यस वर्ष पदम सुन्दासलाई छनोट गरेको हो।

कमेन्ट गर्नुहोस्