१५ असार २०८३, सोमबार

६ करोड बढी गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा गण्डकी यातायात मन्त्रालयका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

असार २५, २०८२
काठमाडौं
६ करोड बढी गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा गण्डकी यातायात मन्त्रालयका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा कास्कीका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाख रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै वैधानिक रूपमा पुष्टि हुन नसक्ने रकम आर्जन गरेका थिए ।

आयोगले अनुसन्धान गर्दा उनले आफ्नो सेवा अवधिभर आर्जन गरेको आय र व्यय विवरणमा उल्लेख्य अन्तर देखिएको भन्दै भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो ।

३ करोडभन्दा बढी आम्दानी, ९ करोडभन्दा बढी खर्च

अनुसन्धानअनुसार पौडेलले २०५४ माघ ८ मा सरकारी सेवामा नियुक्त भई २०८० मंसिर १० सम्मको अवधिमा तलब, भत्ता, कृषि आम्दानी, जग्गा बिक्री, शेयर बिक्री, सञ्चय कोषको ऋण र परिवारका अन्य सदस्यका नाममा गरी कुल ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ बराबरको आम्दानी गरेका थिए ।

तर सोही अवधिमा उनले घरजग्गा खरिद, घर निर्माण, बैंक तथा सहकारीमा मुद्दती बचत, ऋण, सुन धातु खरिद, सेयर खरिद, सवारी साधन खरिद लगायत शीर्षकमा गरी ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ खर्च गरेको देखिएको छ ।

आयोगका अनुसार स्रोत नदेखिएको रकम ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ ८२ पैसा रहेको छ । पौडेलले आर्जन गरेको सम्पत्तिको स्रोत वैध नभएको र आफूले पेस गरेका सम्पत्ति विवरणमा समेत वास्तविक सम्पत्ति लुकाएको देखिएकाले सोहीअनुसार मुद्दा दायर गरिएको आयोगको भनाइ छ ।

पत्नी हुमाकुमारी उपाध्यायसमेत प्रतिवादी

पौडेलले गैरकानूनी रूपमा आर्जन गरेको गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति आफ्नी पत्नी हुमाकुमारी उपाध्यायको नाममा समेत राखिएको आयोगले जनाएको छ । आयोगले सम्पत्ति जफतका लागि उनलाई प्रतिवादी बनाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्