
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा सार्वजनिक टेस्ट ब्याट्सम्यानको पछिल्लो वरीयतामा इङ्ल्यान्डका ह्यारी ब्रुक पहिलो स्थानमा उक्लिएका छन् । लामो समयदेखि टेस्ट ब्याट्सम्यान वरीयताको पहिलो स्थानमा आसिन इङ्ल्यान्डकै जो रुट भने दोस्रो स्थानमा झरेका छन् ।
ब्रुकले हाल जारी भारतविरुद्धको टेस्ट शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पहिलो टेस्टमा ९९ रन बनाए । उनले दोस्रो टेस्टमा पनि टोलीका लागि एक सय ५८ रनको पाली खेलेका थिए । सोही कारणले उनी वरीयताको पहिलो स्थानमा उक्लिएका हुन् ।
टेस्ट ब्याट्सम्यान वरीयताको तेस्रो स्थानमा न्युजिल्यान्डका केन विलियम्सन छन् । भारतका यशस्वी जैसवाल चौथो र अस्ट्रेलियाका स्टिभ स्मिथ पाँचौं स्थानमा आसीन छन् । भारतका शुभमन गिल वरीयताको छैटौं स्थानमा छन् ।
यसैगरी, आईसीसी टेस्ट बलिङ वरीयतामा भने भारतका जसप्रित बुमराह पहिलो, दक्षिण अफ्रिकाका कागिसो राबडा दोस्रो, अस्ट्रेलियाका प्याट कमिन्स तेस्रो, अस्ट्रेलियाकै जस हेजलउड चौथो र पाकिस्तानका नोमन अली पाँचौं स्थानमा आसीन छन् ।
यसैगरी, टेस्ट अलराउन्डर वरीयतामा भारतका रविन्द्र जडेजा पहिलो, बंगलादेशका मेहदी हसन मिराज दोस्रो, दक्षिण अफ्रिकाका वियान मुल्डर तेस्रो, दक्षिण अफ्रिकाकै मार्को यानसन चौथो र अस्ट्रेलियाका प्याट कमिन्स पाँचौं स्थानमा रहेका छन् ।
यसैगरी, पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा भारतका शुभमन गिल पहिलो, पाकिस्तानका बाबर आजम दोस्रो, भारतका रोहित शर्मा तेस्रो, भारतकै विराट कोहली चौथो र न्युजिल्यान्डका ड्यारल मिचेल पाँचौं स्थानमा आसीन छन् ।
अधिकांश नेपाली ब्याट्सम्यान भने अघिल्लो वरीयताको तुलनामा तल झरेका छन् । कुशल भुर्तेल ८९औं वरीयतामा पुगेका छन् । यसअघि उनी ८७औं वरीयतामा थिए । आरिफ शेख ९२औं वरीयतामा छन् । यसअघि आरिफ ९०औं स्थानमा थिए । आसिफ शेख ९५औं र रोहित पौडेल एक सयौं स्थानमा छन् । उनीहरू पनि एक/एक स्थान तल झरेका हुन् ।
यसैगरी, एकदिवसीय बलिङ वरीयतामा श्रीलंकाका महिश थिक्सना पहिलो, भारतका कुलदीप यादव दोस्रो, दक्षिण अफ्रिकाका केशव महाराज तेस्रो, नामिबियाका बेनार्ड स्कोल्ज चौथो र अफगानिस्तानका रासिद खान पाँचौं स्थानमा छन् ।
एकदिवसीय बलिङ वरीयतामा नेपालका ललित राजवंशी यथास्थानमा छन् । नयाँ वरीयतामा पनि उनी ४८औं स्थानमै छन् । सन्दीप लामिछाने एक वरीयता तल झर्दै ५५औं स्थानमा पुगेका छन् । एक स्थान माथि उक्लिएका दीपेन्द्रसिंह ऐरी भने ७६औं वरीयतामा छन् ।
यसैगरी, एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई पहिलो, अफगानिस्तानकै मोहम्मद नाबी दोस्रो, जिम्बाबेका सिकन्दर राजा तेस्रो, बंगलादेशका मेहदी हसन मिराज चौथो र न्युजिल्यान्डका माइकल ब्रासवेल पाँचौं स्थानमा छन् ।
एकदिवसीय अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी (५४औं) र सोमपाल कामी (५६औं) स्थानमा यथावत्् छन् । सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । उनी नयाँ वरीयतामा ५८औं स्थानमा आसीन छन् ।
पछिल्लो टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड पहिलो, भारतका अभिषेक शर्मा दोस्रो, भारतकै तिलक वर्मा तेस्रो, इङ्ल्यान्डका फिल साल्ट चौथो र इङ्ल्यान्डकै जस बट्लर पाँचौं स्थानमा आसीन छन् । नेपालका दीपेन्द्रसिंह ऐरी (६१औं) र रोहित पौडेल (६६औं) यथास्थानमा छन् ।
यसैगरी, टी–२० बलिङ वरीयतामा न्युजिल्यान्डका ज्याक डफी पहिलो, इङ्ल्यान्डका आदिल रसिद दोस्रो, भारतका वरुण चक्रवर्ती तेस्रो, श्रीलंकाका वानिन्दु हसरंगा चौथो र वेस्ट इन्डिजका अकेल होसैन पाँचौं स्थानमा छन् । नेपालका ललित राजवंशी ५४औं स्थानमा यथावत् छन् । सन्दीप लामिछाने भने एक स्थान माथि उक्लिएर ७४औं वरीयतामा पुगेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा भारतका हार्दिक पाण्ड्या पहिलो र अस्ट्रेलियाका मार्कुस स्टोइनिस दोस्रो स्थानमा यथावत् छन् । नेपालका दीपेन्द्रसिंह ऐरी पनि तेस्रो वरीयतामा यथावत् छन् । चौथो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी र पाँचौं स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा पनि यथावत् रहेका छन् ।