३० जेठ २०८३, शनिबार

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

असार २५, २०८२
म्याग्दी
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

 धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । 

धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह आंशिक रूपमा रोकिएको र तलाउ बनेको थियो । ठूला डुङ्गासहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न र तलाउमा पानीको सतह घट्न थालेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । 

दिउँसो १२ः३० देखि पहिरोका कारण तल्लो क्षेत्रमा पानीको सतह घटेको थियो । घटनास्थलमा पुगेका बाँसबोटको छिमेकी छहरीका बासिन्दा तम पुनले थुनिएको नदी बग्न थालेपनि भिरबाट पहिरो खस्ने क्रम भने नरोकिएको बताए । 
आज बिहान म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा भारी वर्षा भएको थियो । छहरी, कल्लेनी, बगर, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिङ्गा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्ती हुन् । 

धवलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तत्काललाई जोखिम टरे पनि तटीय क्षेत्रका बासिन्दालाई खोला किनारमा नजान र सकर्त रहन अनुरोध गरेका छन् । 

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पहिरो खसेको भिरको फेदीमा रहेको बाँसबोटका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्