
आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुन् अस्मिन राउत ।
“त्यो घटना वास्तवमै कहालिलाग्दो थियो । हुन त त्यस्ता कैयौँ त्रासदीपूर्ण रातहरू भोग्नुप-यो हाम्रो बस्तीले, ती घटना सम्झिदाँ पनि नरमाइलो लाग्छ”, उनले भने ।
डकैतीका शृङ्खलाबद्ध घटना, गाउँमा भय । प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने । लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलम ठोकिसकेका हुन्थे । २०६७ सालको असार महिनामको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो । उक्त घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले ।
त्यही घटनापछि लहानको ग्रामीण भेगमा पर्ने वडा नं १३, १४ र २४ लाई पायक पर्नेगरी पक्की टोलमा अस्थायी प्रहरी चौकी बनेको थियो । त्यसले गाउँमा साँच्चै शान्ति फर्कियो । रात परेपछि ढोका थुनेर बस्नुपर्ने बाध्यता हट्यो । बालबालिका ढुक्कसँग बाहिर खेल्न थाले । महिलाहरू बिहान–साँझ खेतबारी जान थाले । गाउँलेमा पुनः आत्मविश्वास आयो ।
डकैतको त्रास मेटिएपछि गाउँमा शान्ति त फर्कियो । समयसँगै समुदाय र प्रहरीबीचको सम्बन्ध पनि गहिरिँदै गयो, तर जीर्ण भवनबाट प्रहरीका लागि सेवा प्रवाह सहज थिएन । बर्सातमा पानी चुहिने, हिउँदमा धुलोले भरिने समस्या थियो । त्यसपछि गाउँलेहरूले नयाँ प्रहरी भवनको आवश्यकता महसुस गरी स्वतःस्फुर्त रूपमा नयाँ भवन निर्माणको अभियान सुरु गरे । त्यसका लागि चन्दा सङ्कलन अभियान सञ्चालन थाले । त्यो अभियान प्रभावकारी बन्दै गयो ।
गाउँलेहरूले सकेको आर्थिक तथा भौतिक सहयोग गरे । विदेशमा रहेका गाउँका व्यक्तिहरूले पनि दिल खोलेर सहयोग गरे । सामूहिक प्रयासकै परिणामस्वरूप निर्माण भयो—पाँचकोठे पक्की प्रहरी भवन । त्यही भवनको बुधबार एक विशेष कार्यक्रमबीच लहान नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरेका छन् । अहिले प्रहरीको उपस्थितिले यहाँ सर्वसाधरण ढुक्कले सुत्त पाउने भएका छन् ।