
नेपाली सेनाले बाजुरास्थित बडीमालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ । मल्लागिरी पर्वतअन्तर्गत समुद्री सतहबाट करिब ४ हजार २२० मिटर उचाइमा रहेको ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्वको बडीमालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले पुनर्निर्माण गरेको हो ।
२०८१ चैत्र २८ गतेबाट शुरू गरिएको पुनर्निर्माण कार्य असार २३ गते सम्पन्न भएको सेनाले जनाएको छ । पुनर्निर्माणको समयमा समेत श्रद्धालु भक्तजनहरूको लागि मन्दिर निरन्तर खुल्ला रहेको थियो ।

सेनाका अनुसार प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (चौँ संशोधन सहित)को परिधिभित्र रही पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरास्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पूरानो मौलिक स्वरूपअनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको हो ।

रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडी मालिका नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय, भक्तपुर तथा ललितपुरका दक्ष कालिगडहरू र स्थानीयहरूको निरन्तर प्रयासमा विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौती माझ करिब २ महिनामा पुनर्निर्माण कार्य सम्पन्न भएको सेनाले जनाएको छ ।