
गएराति देशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षासम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, वाग्मती, गण्डकी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति कोशी, मधेश, वाग्मती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मधेश, वाग्मती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।