
नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोर घटाउने निर्णय गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्व पौडेलले ब्याजदर कोरिडोर घटाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।
नयाँ नीतिअनुसार ब्याजदर कोरिडोरको माथिल्लो सीमा (बैंक दर) ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाइएको छ भने तल्लो सीमा ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत तोकिएको छ । यो निर्णयले बजारमा तरलता प्रवाह बढाउने र लगानीको वातावरण सहज बनाउने अपेक्षा गरेको उनको भनाइ छ ।
ब्याजदर कोरिडोर भनेको राष्ट्र बैंकले बैंकहरूलाई दिने कर्जा तथा उनीहरूबाट लिने निक्षेपमा लागू हुने ब्याजदरको दायरा हो । यसले बजारमा ब्याजदरको सीमा तोक्न मद्दत गर्छ ।
त्यस्तै, मौद्रिक नीतिको आधार बन्ने नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारिएको छ ।
राष्ट्र बैंकको तर्फबाट ब्याजदर घटाउने निर्णय अर्थतन्त्रमा निजी क्षेत्रको ऋण प्रवाह बढाउन र आर्थिक गतिविधिमा गतिशीलता ल्याउन गरिएको संकेतको रूपमा लिइएको छ ।
कोरोना महामारीपछि घटेको निजी क्षेत्रको लगानी र मन्द पारेको आर्थिक वृद्धिदरलाई फेरि माथि उठाउन राष्ट्र बैंकले पछिल्लो समय मौद्रिक नीति खुकुलो बनाउँदै आएको छ ।
ब्याजदर कोरिडोरको सीमा घटाइएपछि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा दिँदा लिने ब्याजदर पनि घट्ने अपेक्षा गरिएको छ ।
यसले उद्योग व्यवसाय, निर्माण, र सेवा क्षेत्रमा कर्जाको पहुँचलाई सहज बनाउने र समग्र अर्थतन्त्रमा खपत तथा लगानीलाई टेवा पुर्याउने विश्वास गरिएको छ ।