
सिद्धार्थ गौतम बुद्धले ज्ञानको खोजीका लागि कपिलवस्तुको तिलौराकोट दरबारको राजसी सुख सयल त्यागेको दिनको स्मरणमा बिहीबार मध्यरातमा 'महाभिनिष्क्रमण दिवस' मनाइएको छ ।
२६२० वर्षअघि राजा शुद्धोधनका छोरा युवराज सिद्धार्थले दरबारको सुख सुविधा त्यागेर ज्ञानको खोजीका लागि सेतो घोडा चढेर तिलौराकोटको पूर्वी गेटबाट बाहिरिएको घटनालाई चित्रण गर्दै दिवस मनाइएको हो ।
लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहकार्यमा बुद्ध सर्किट डट्कम नेपाल र गच्छामी मिडिया ग्रुपद्वारा तिलौराकोट परिसरमा आयोजित दिवसमा महाभिनिष्क्रमणलाई उत्सवका रूपमा प्रत्येक वर्ष मनाउनुपर्नेमा जोड दिइएको थियो ।
सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरेपछि महात्मा बुद्धका नामले प्रख्यात भएका थिए । युवराज सिद्धार्थले बुद्धत्व प्राप्तिका लागि ज्ञानको खोजीमा आफ्नो सुख सयल त्याग गरी मानव कल्याणका लागि हिँडेकाले असार शुक्ल पूर्णिमाका दिन मनाइने दिवसले विशेष सन्देश दिने छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र पत्रकार किरणमान बज्राचार्यलाई साङ्केतिक रूपमा राजकुमार सिद्धार्थको रूपमा घोडामा चढाएर राजप्रसादको पूर्वी ढोकाबाट ज्ञानको खोजीमा हिँडेको दृश्य चित्रण गराइएको थियो ।
कार्यक्रममा बोल्दै कोषका सदस्य सचिव शाक्यले प्राचीन कपिलवस्तु (तिलौराकोट दरबार) बुद्धकालीन गृह त्यागको दृश्यले आध्यात्मिक पर्यटनको विकास गराउने बताए । उनले आजभन्दा २ हजार ६ सय २० वर्षअघि युवराज सिद्धार्थले गृह त्याग गरेको दिनमा त्यही दृश्यलाई स्मरण गर्दा शान्ति, सद्भाव र करुणाको ऊर्जा पैदा भएको बताए ।
यस्तै लुम्बिनी विकास कोषका सद्भावना दूत तथा महाभिनिष्क्रमण (गृह त्याग) कार्यक्रमका परिकल्पनाकार विक्रम पाँणेकाजीले विगत ७ वर्षदेखि तिलौराकोटमा निरन्तर रूपमा स्थानीयहरूको सक्रियतामा दिवस मनाउँदै आएको बताए ।
आफूले परिकल्पना गरेको दिवस, कुदान उत्सव र माता मायादेवी सुत्केरी मार्ग पर्यटकीय प्रोडक्टको रूपमा स्थापित हुने चरणमा पुगेको बताउँदै उनले कपिलवस्तुको पर्यटन विकासमा सहयोगी बनेको बताए । उनले आगामी दिनमा लुम्बिनी विकास कोषले नै दिवसको अपनत्व लिएर कार्यक्रमको आयोजना हुने जानकारी दिए ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तु नगरपालिकासहित बुद्धको जीवनी जोडिएका पाँच पालिकाले बुद्ध परिपथका लागि योजना निर्माण गरी कार्यक्रम अगाडि बढाएको बताए ।
उनले कपिलवस्तु नगरपालिकासहित देवदह नगरपालिकाको सहकार्यमा आगामी आर्थिक वर्षमा सिद्धार्थ गौतमको विवाह उत्सवसमेत मनाउन बजेट छुटाएको बताए ।
यस्तै दिवसका अवसरमा गच्छामी मिडिया ग्रुपका सञ्चालक मनोज पौडेल, कपिलवस्तु वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे, लुम्बिनी विकास कोष तिलौराकोट कार्यालयका प्रमुख माधव आचार्य, पत्रकार महासंघ कपिलवस्तुका कार्यवाहक अध्यक्ष खगप्रसाद चापागाईंले महाभिनिष्क्रमण दिवसले पर्यटन विकासमा महत्त्वपूर्ण टेवा दिएको बताए ।