
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शुक्रबार ६ व्यक्ति र एक कम्पनीविरुद्ध गैरकानूनी लाभ तथा हानी र्पुयाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत नीमबहादुर वली र वल्र्ड डिस्ट्रीब्युशन नेपाल प्रालि कान्तिपथ, काठमाडौंका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई प्रतिवादी कायम गरिएको छ ।
००००
प्रमुख प्रशासकीय अधिकृतसँग मेयर बालेन शाहको टसलका कारण रोकिएको काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर साहले २९ गते आइतबार दिउँसो २ बजे नगरसभा अधिवेशन तय भएको जानकारी गराएका हुन् । बजेट पारित गर्न सोही दिन बिहान कार्यपालिका बैठक बस्ने मेयरले घोषणा गरे ।
००००
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अध्यागमन कर्मचारीहरूका लागि नैतिक संहिता जारी गरेको छ ।
प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले शुक्रबार उक्त संहिता जारी गरेका हुन् ।
यात्रुहरूलाई बिदा गर्दा ‘ह्याभ अ नाइस जर्नी’ भन्ने, नेपाल भित्र प्रवेश गर्ने यात्रुहरूलाई वेलकम इन नेपाल, ह्याभ अ नाइस डे’ भन्ने, थोरै मात्र आवश्यक प्रश्नहरू गर्ने, आफ्नो काम गर्दा सभ्य र सम्मानजनक शब्दहरूको प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने र बोलीमा चित्तबुझ्दो मिठास राख्ने, सेवामा ढिलाइ हुन गएमा त्यसको कारण स्पष्ट रूपमा बताउने र बढी भएको खण्डमा पर्यटकहरूसँग बोलेर आत्मीयता प्रदान गर्ने जस्ता कुराहरू संहितामा राखिएको छ ।
००००
सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् ।
आन्दोलनका कार्यक्रम स्थगित भएसँगै शुक्रबारदेखि देशभरका सुनचाँदी पसल खुलेका छन् ।
असार १९ गतेदेखि सुनचाँदीको दैनिक मूल्यसमेत तोकिएको थिएन ।
००००
माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई ‘श्री ५ महाराजधिराज’ भन्ने शब्दावली प्रयोग नगर्ने, फेसबुकबाट यस्ता सन्देश सम्प्रेषण नगर्ने र पहिले पोस्ट गरिएका यस्तै खालका सन्देशहरू डिलिट गर्ने सर्तमा रिहा प्रहरीले रिहा गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार पाठकलाई शुक्रबार साँझ ७ः४० बजे परिवारको जिम्मामा छोडिएको हो।
उनले प्रहरीसमक्ष कागज गरेर उक्त प्रकारका अभिव्यक्ति नदोर्होयाउने प्रतिवद्धता जनाएका छन्। साथै, पूर्वराजालाई 'श्री ५ महाराजधिराज' भनेर उल्लेख गर्ने खालका प्रेस विज्ञप्तिहरू मेट्ने सहमति पनि गरेका छन्।
००००
पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज भएको खेलमा नेपालले भुटानमाथि ६–१ गोलको जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
००००
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा, पुँजी बजार, डिजिटल सेवा तथा विदेशी मुद्रा व्यवस्थापनमा लचिलो र सुधारमुखी व्यवस्थाहरू ल्याएको छ ।
कर्जाको पहुँच बढाउन राष्ट्र बैंकले ब्याजदर कोरिडोर घटाएको छ । बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत र तल्लो सीमा ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ ।
यसले बैंकहरूले कर्जा सस्तोमा उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ, जसको प्रत्यक्ष लाभ घरजग्गा, निर्माण तथा व्यापारिक क्षेत्रमा हुने विश्वास लिइएको छ ।
००००
अन्ततः नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा जाने गरी हस्ताक्षर गरेका छन् । शुक्रबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग गौतमले एकताबद्ध हुने गरी समझदारीमा पत्रमा हस्ताक्षर गरेका हुन् ।
एकताबद्ध हुने समझदारीपछि साउन २ गते २ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा हुने नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले लोकान्तरलाई जानकारी दिए ।