भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । शनिबार सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।
स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो ।
उनले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने बताए ।
‘मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेन, त्यसैले नसर्ने रोगको निवारणका लागि रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहित स्वयंसेवक परिचालन गरेर घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्नेछौं । त्यसबापत स्वयंसेविकाहरूलाई पारिश्रमिकको व्यवस्था र एक हजार सञ्चार खर्चको व्यवस्था गरेका छौं’, उनले भने ।
उनले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४सै घण्टा सेवा सञ्चालन गर्नेगरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको बताउँदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति थप र उपकरणहरूको वितरणलाई मन्त्रालयले प्रभावकारी रुपमा अगाडि बनाएको उल्लेख गरे ।
योग सिकाउने प्रशिक्षकले पनि अब प्रदेशको तालिम लिएर प्रमाण लिएपछि मात्रै गुरु बन्न पाउने व्यवस्था गरेको बताउँदै उनले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय, वन मन्त्रालय, कृषिलगायत मन्त्रालयको कार्यक्रममा पनि स्वास्थ्यलाई जोडेर लैजाने बताए ।