
वस्तुभाउ चराउन घरबाट फाँट झर्थे, धर्मदत्त अधिकारी । घर फर्किँदा बर्खाबखत तार्दी खोला तर्नै नसक्नेगरि बढ्थ्यो । खोला बढेको थाहा पाएपछि ‘बा’ लिन आउँथे । धर्मदत्तलाई बोकेर तार्थे ।
बर्खे खोलामा मुस्किलले ज्यान र वस्तुभाउ जोगिन्थ्यो । यो उनको बाल्यकालका ‘किस्सा’ हुन् । लमजुङको दोर्दी गाउँपालिका-१ का धर्मदत्त जीवनको ८२ औं वर्षमा दौडिरहेका छन् । उनी जीवनको समीक्षा गर्दै सुनाउँछन्, ‘हामीले दु:ख भोग्नुपर्यो । अहिले त बाटो पनि बन्यो, खोलामा पुल बन्दैछ । विकास भयो । हामी त छिटो जन्मिएछ ।’
दोर्दी-१ मा र राइनास नगरपालिका-९ लाई जोड्ने तार्दी खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा मोटरेबल पुल निर्माणाधीन छ । यो बर्खादेखि स्थानीयलाई न खोला तर्न सहारा चाहिन्छ, न फड्के बनाउनुपर्छ ।
‘पुल पनि बन्यो, बाटो पनि बनेको छ । अब त गाडी आउँछ होला,’ उनी आशावादी सुनिए । पुल बनेपछि राइनास-९ गाउँमा पनि बिछट्ट खुसी छाएको छ ।
तार्दी खोला तरेर भोटेओडार बजार र सदरमुकाम बेंशीशहर आउजाउ गर्नुपर्छ । खोलामा पुल बनेसँगै ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय फूलमाया थापा बताउँछिन् ।
‘सजिलो त धेरै सजिलो भएको छ नि, आफ्नो जिउ नै फालेर बर्खाको खोला तर्नुपर्थ्यो,’ उनी भन्छिन्, ‘ढुंगा आएर खुट्टामा लागे जिन्दगी नै छैन । हामीलाई त पुल मात्र बने पनि धेरै खुसी लागेको छ ।’

तार्दी खोला नाम सुन्नेबित्तिकै उनी बर्खाको समयमा ३ महिनालाई सामान जोहो गरेका पुराना दिन सम्झन्छिन् । पहिले बोकेर ओसार्नुपर्ने सामान आजकल मोटरमा घरसम्मै आइपुग्छ ।
‘खोला बढेर भोटेओडार बजार जानै सकिन्थेन । बाउ–बाजेलाई, छोरा मान्छेलाई साथी ल्याउनुपर्थ्यो,’ उनले विगत सम्झिइन्, ‘खोला बढ्दा ३ महिनालाई चाहिने नुन–तेल, भुटन–मसला पहिल्यै बोकेर ल्याउँथ्यौं । अहिले त उता बजारबाट गाडीमै हालेर पठाइदिन्छन् ।’
दोर्दी-१ र राइनास-९ मा यो पुलले यति खुसी छाएको छ कि स्थानीयले ठेकेदार, मजदुर र सरकारी निकायका प्रतिनिधिलाई सम्मान नै गर्ने योजना बनाएका छन् ।
उता गोरखाको सिरानचोक गाउँपालिका–४ नयाँसाँघुका ८५ वर्षीय लालबहादुर कोइरालाको घर आँगनमै सदरमुकाम जाने स्टिल ट्रस पुल निर्माणाधीन छ । ‘पहिला हामी पैदाल हिँड्थ्यौं । बल हुँदा सदरमुकाम उक्लन डेढ घण्टा लाग्थ्यो । अहिले मलाई दुई घण्टा लाग्छ । पुल आएपछि सजिलो हुने भयो,’ कोइरालाले भने ।
सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकालाई जोड्ने गरी नयाँसाँघुको दरौंदी खोलामा ७८ मिटर लम्बाइको स्टिल ट्रष्ट पुल निर्माणाधीन छ । पूर्वाधार विकास कार्यालय गोरखासँग भएको सम्झौताअनुसार इलाइट कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको छ ।

२०८२ साल मंसिरसम्म यो पुल निर्माण कार्य सक्ने सम्झौता रहेको कार्यालयका इन्जिनियर दीपक बस्नेतले बताए । पुल बनेपछि अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, लाप्राक, बारपाक क्षेत्रका स्थानीयलाई सदरमुकाम गोरखा बजार पुग्न सहज हुनेछ । पुलको ८० प्रतिशत निर्माण कार्य सकिएको छ ।
लालबहादुर दिनभर पुल निर्माण भइरहेको खोला छेउतिर पुग्छन् । मजदुरलाई पुराना दिन सुनाउँछन् । अहिले उनलाई एउटा प्रश्न मनमा खेलिरहन्छ- पुल बनेर यहाँ कहिले मोटर गुड्ला ! ‘म यो पुलमा गाडी चढेर जान भ्याउँछु (म त्यतिन्जेल बाँच्छु) होला त ?’ उनले प्रश्न गरे ।
स्याङ्जाको राक्सेघाट खोलामा पनि मोटरेबल पुल निर्माणकै अन्तिम चरणमा छ । यसअघि राक्सेघाट खोला तरेरै स्थानीय मेलापातमा वारपार गर्थे । पुलको ढलानको काम सकिएसँगै अहिले खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
‘हामी काम गर्न वारिपारि गर्दा यही खोलाबाट तरेर हिँड्थ्यौं । एउटा बुवा यहाँबाट तर्दा पर गएर बित्नुभयो,’ स्थानीय कल्पना रानाले सुनाइन्, ‘त्यसपछि यहाँ पुल हाल्न योजना परेको हो । अब सजिलो हुन्छ ।’
३१ मिटर लम्बाइ र ८ मिटर चौडाइको पुल निर्माण गर्नेगरि पूर्वाधार विकास कार्यालय स्याङ्जा र हिम निर्माण सेवा, काठमाडौंबीच २०८० फागुन १८ गते ४ करोड ९२ लाख रूपैयाँमा सम्झौता भएको थियो । विरुवा गाउँपालिका-१ र ८ जोड्ने यो पुल निर्माण २०८२ फागुन १२ गतेभित्र सक्ने लक्ष्य राखिएको छ ।

पवर्तको लिदी खोलामा मोटरेबल पुल बनेको छ । पहिलेपहिले बर्खामा ह्युमपाइप राखेर खोला तर्नुपर्थ्यो । गत मंसिरमा खोलामा पुल बनेपछि अब कुनै समस्या छैन ।
‘पहिला खेत थियो । खेत खोलाले लग्यो । त्यसपछि त्यत्तिकै थियो । अहिले बाटो बन्यो राम्रो भएछ,’ स्थानीय लक्ष्मण लामिछानेले सुनाए, ‘पहिला त ह्युम् पाइप ल्याएर तर्ने गर्थ्यौं, अहिले सहज भएको छ ।’
स्थापनाको दोस्रो कार्यकालसम्म आइपुग्दा प्रदेश सरकारमाथि बग्रेल्ती प्रश्न छन् । तर, बजेटको करिब ४० प्रतिशत हिस्सा ओगट्ने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका निकायबाट बनिरहेका पुल, सडक, झोलुंगे पुलले ग्रामीण भेगका स्थानीयको दैनिकी नै फेरिएको छ । लक्ष्यअनुसार काम हुन नसकेपनि ग्रामीण भेगका स्थानीय, जहाँ सडक र पुल बनेका छन् उनीहरू सरकारप्रति सकारात्मक छन् ।
गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६/२०७७ देखि २०८०/२०८१ सम्म २५० वटा झोलुंगे पुल निर्माणको लक्ष्य राखेको थियो । तर, यो अवधिमा ८४ वटा पुल बनेका छन् । प्रदेश सरकारले २८८ वटा सडक पुल बनाउने लक्ष्य राखेको थियो । जसमध्ये १०९ वटा मात्र निर्माण सम्पन्न भएका छन् ।
भौतिक मन्त्रालयका इन्जिनियर कमलकुमार अधिकारी प्रदेशको स्रोत थोरै हुँदा पूर्वाधार विकासमा गण्डकीले राखेको लक्ष्य हासिल गर्न नसकेको बताउँछन् । तरपनि यी सबै पूर्वाधार विकास प्रदेश सरकार मातहत रहेकाले सम्भव रहेको उनको भनाइ छ ।

‘न्यून बजेट विनियोजन भएकाले रकमान्तरमा समस्या हुन्छ, प्रदेशको स्रोत थोरै हुँदा प्रगतिमा असर गरेको छ । केही विगतका समस्याग्रस्त योजना छन्, त्यसलाई हामीले टुंग्याउने प्रक्रियामा गइसकेका छौं । यति हुँदाहुँदै पनि हामीले राम्रो काम गरिरहेका छौं,’ उनले भने ।
बहुवर्षीय योजनाको कम र टुक्रे योजनामा बढी बजेट विनियोजन हुने समस्या रहेको उनले सुनाए । यो समस्या समाधान गर्न गुरुयोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी रहेको उनको भनाइ छ ।
प्रदेश सरकार स्थापनाको ८ वर्षमा १०९ वटा मोटरेबल पुल निर्माण भएका छन् । ९२३ किलोमिटर सडक कालोपत्रे, ७ सय किलोमिटर सडक फराकिलो पार्ने, ग्राभेल र स्तरोन्नति गरिएको छ । ८४ वटा झोलुंगे पुल र ३१ वटा भवन निर्माण भएको सचिव अधिकारीले बताए ।
‘एउटा कुरा के बुझ्नुपर्छ भने बाटो, पुल प्रदेश सरकार स्थापना भएकै कारण बनेका हुन् । प्रदेश सरकार हुँदैनथ्यो भने यति छिट्टै बन्न सक्ने भन्ने हुन्थेन,’ उनले भने, ‘प्रदेश सरकारबारे मान्छेका विभिन्न धारणा हुन सक्छन् । तर, प्रदेश सरकार आइसकेपछि भएका काम सन्तोषजनक छ ।’
चालु आर्थिक वर्षमा मन्त्रालय र मातहतका कार्यालयबाट १८ सय ४६ वटा योजना सञ्चालनमा रहेको मन्त्रालयका योजना अनुगमन मूल्यांकन तथा अन्य पूर्वाधार महाशाखा प्रमुख महेन्द्र बानियाले जानकारी दिए ।
चालु आर्थिक वर्षमा मन्त्रालयका लागि १२ अर्ब ७० करोड रूपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये हालसम्म ५२ प्रतिशत खर्च भएको छ ।