
स्रष्टा राजीव श्रेष्ठका ‘अनाहक प्रश्नहरू’ कवितासंग्रह तथा ‘सफलताका आयाम’ जीवनीकृति लोकार्पण भएको छ ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्राडा. दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी, डा.जीवलाल बस्याल लगायतले ती कृति लोकार्पण गरे ।
प्राडा. श्रेष्ठले राजीवका कवितामा सरलता र तडकभडक नभएको भन्दै प्रतीक कम भएपनि गहन अर्थ बोकेका कविता रहेको बताए । उनले राजीवलाई जीवनका दु:खभित्रबाट सुख खोज्ने कविको रूपमा चित्रण गरे ।
अर्का वक्ता श्रीओम श्रेष्ठ ‘रोदन’ले राम्रो काम शुरू जहिले गरेपनि शुभ साइत हुने भन्दै पचासकै दशकमा लेखनी थालेका राजीवको कृति ढिलो गरि आएको बताए । उनले लेखनीमा उनी सम्भावना बोकेर देखा परेका बताए ।
लोकार्पित कविता कृतिमाथि विमल भौकाजीले चर्चा गर्दै भने, ‘राजीव कवितामा संवेदनशील भएर पोखिने कवि हुन् । आफ्ना भोगाइ र जीवनप्रतिको आशावादिता कविताहरूले पोखेका छन् ।’ उनले संग्रहमा ३२ वटा कविता समेटिएको बताए ।
अर्का चर्चाकार डा.जीवलाल बस्यालले जीवनीप्रति चर्चा गर्दै भने, ‘लेखकले विभिन्न व्यक्तिको सूक्ष्म अध्ययन गरेर जीवनी लेख्नुभएको छ । बहुआयामिक स्वरूपलाई कृतिमा समेट्ने प्रयास गर्नुभएको छ ।’
स्वदेशदेखि विदेशसम्मका विभिन्न क्षेत्रका व्यक्तित्वको बारेमा जीवनी आएको बताउँदै उनले विद्यार्थी, अनुसन्धानदाता लगायतले यो प्रयोग गर्न सक्ने बताए ।
स्रष्टा राजीव श्रेष्ठले लेखनीको प्रेरणाको श्रोत स्व.पिताजी भएको बताए । कार्यक्रममा राजीवका आमा सानुमैयाँ श्रेष्ठ, ठूली आमा सुलोचना श्रेष्ठसहित परिवारका आधा दर्जन सदस्यहरूलाई सम्मान गरिएको थियो ।
कवि पूर्णबहादुर श्रेष्ठ, ह्रदयङ्कृत, तारा केसी र विश्व सिग्देलले कृतिभित्रका १/१ थान कविता वाचन गरे ।