२३ असार २०८३, मंगलबार
बन्द प्रशिक्षणमा खेलाडीको बिजोग

EXCLUSIVE: जस्ताको चुहिने टहरोमा वर्ल्डकप खेल्ने राष्ट्रिय टीम, पालो गरेर सुत्छन् महिला खेलाडी

बस्न नसकेर घर फर्किए ५ खेलाडी, सरकारले उपलब्ध गराएको पैसाले २ छाक खानै मुस्किल
असार २९, २०८२
काठमाडौं
EXCLUSIVE: जस्ताको चुहिने टहरोमा वर्ल्डकप खेल्ने राष्ट्रिय टीम, पालो गरेर सुत्छन् महिला खेलाडी

अन्तर्राष्ट्रिय प्रतियोगिता (एसियाड र विश्वकप)को तयारीमा रहेको राष्ट्रिय टोलीका खेलाडी रात कटाउन समेत पालो गरेर सुत्नुपर्ने बाध्यतामा रहेको पाइएको छ ।

समग्र नेपाली खेलकुदलाई प्रविधिको युगमा लगेको भनेर खुसियाली मनाइँदै गरेका बेला विश्वकप र एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका कबड्डी खेलाडीको बिजोगको दृश्य बाहिर आएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगितामा ऐतिहासिक स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यअनुसार विभिन्न खेलका खेलाडीलाई ‘क्लोज क्याम्प’ मा राखेर प्रशिक्षण दिँदै आएको छ । त्यसमध्ये कबड्डी खेल पनि पर्छ ।

कबड्डी त्यही खेल हो, जसले सन् २०२२ मा चीनमा सम्पन्न एसियाली खेलकुदमा आफ्नो पहिलो सहभागितामै पदक जितेर इतिहास रचेको थियो । त्यति बेला नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।

चाइना एसियाडमा कांस्य जितेको टीम

देशका लागि ऐतिहासिक पदक जित्ने कबड्डी खेलका महिला र पुरुष खेलाडीहरूले अहिले उकुसमुकुसपूर्ण वातावरणमा आगामी एसियाड तथा विश्वकपको तयारी गरिरहेका छन् ।

कबड्डी खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ स्थित जस्ताले छाएको एउटा टहरोमा राखेर प्रशिक्षण दिइँदैछ । खेलाडीहरू विगत आठ महिनादेखि त्यही टहरोमा बस्दै आएका छन् । हाल १६ महिला र १६ जना पुरुष कबड्डी खेलाडी बन्द प्रशिक्षणमा छन् ।

null

खेलाडीलाई चारजना प्रशिक्षकले नियमित प्रशिक्षण गराउँदै आएका छन् ।

बन्द प्रशिक्षणमा महिला र पुरुषतर्फ १२–१२ जना खेलाडीको कोटा निर्धारण गरिएको भए पनि नेपाल कबड्डी संघले दुबै समूहमा चार–चारजना खेलाडी थपेर बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।

जस्ताको टहरोको भुइँ तलामा महिला र त्योभन्दा माथिको तलामा पुरुष खेलाडी बस्छन् । एउटै सानो कोठामा पाँचदेखि छ जनासम्म खेलाडी कोचिएर बस्नुपर्ने अवस्था छ ।

null

महिला र पुरुष प्रशिक्षकका लागि दुईवटा कोठा छुट्याइएको छ ।

मिसन– २०२६ अन्तर्गत रहेका खेलाडीलाई राखेपले दैनिक पाँच सय रुपैयाँ दिने गरेको छ । त्यही पैसाबाट दुई छाक खाना, खाजादेखि लिएर यातायातसम्मको सबै खर्च धान्नुपर्ने अवस्था छ । भइपरी आउने अन्य खर्च समेत त्यही पाँच सय रुपैयाँबाटै टार्नुपर्ने बाध्यता रहेको खेलाडीहरू बताउँछन् ।

‘निकै सकसपूर्ण वातावरण छ । शौचालय जानका लागि पनि पालो पर्खनुपर्छ । जस्ताको छानो भएकाले निकै गर्मी हुन्छ । पंखा (फ्यान) को व्यवस्था समेत छैन । हामी जिल्लाबाट आएका खेलाडीले पनि पाँच सय रुपैयाँमै सबै खर्च धान्नुपर्छ । केही खेलाडीले घरबाट पैसा मगाएर गर्जो टार्ने गरेका छन् । केहीलाई त घरबाट पैसा मगाउन समेत अप्ठ्यारो छ,’ महिला टोलीकी एक खेलाडीले गुनासो गरिन् ।

शौचालयको अवस्था

जस्ताको छानो तातेर सुत्नै नसक्ने अवस्था रहेको उनी बताउँछिन् ।

‘गर्मीले गर्दा निदाउनसम्म सकिँदैन । ढोका खोलेर सुत्दा मच्छर (लामखुट्टे)को गोलो नै भित्र पस्छ । मच्छर धपाउन धुप किन्ने पैसा समेत छैन । हामी महिला खेलाडी भुइँ तलामा बस्छौं । राति ढोका खोलेर सुत्दा सुरक्षाको चिन्ता हुन्छ । गर्मीले अति सताएपछि राति पनि ढोका खोलेर पालो कुर्दै निदाउने गरेका छौं,’ उनले दु:खेसो पोखिन् ।

नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेशनल हाई पर्फमेन्स सेन्टरको उद्घाटन गरेको एक साता नबित्दै खेलकुदको महत्त्वाकांक्षी सपना (मिसन– २०२६) मा व्यस्त कबड्डी खेलाडीले प्रशिक्षणका क्रममा निकै समस्या भोग्नुपरेको निराशाजनक पाटो बाहिरिएको हो ।

प्रधानमन्त्रीले उद्घाटन गरेको कार्यक्रममा सहभागी महिला कबड्डी टीम

लोकान्तरकर्मी त्यहाँ पुग्दा खेलाडीहरू बिहानको खाना खाने तयारीमा थिए ।

खानामा भात, दाल र तरकारी बनाइएको थियो । खेलाडीहरूलाई खाना खानका लागि टेबल र कुर्सीको समेत व्यवस्था गरिएको पाइएन, उभिएरै खाना खाइरहेका थिए । 

भुइँ तलाको एउटा सानो कोठालाई भान्छाको रूपमा प्रयोग गरिएको छ । पैसाको समस्या भएपछि खेलाडीहरू आफैं मिलेर खाना बनाउँछन् । तर, भान्छा कोठाको अवस्था पनि टीठलाग्दो देखिन्छ ।

null

‘खाना बनाउने कोठामा पनि हावा पास हुने ठाउँ छैन । दाल झान्दा र तरकारी बनाउँदा त्यसको रागले हैरान पार्छ । खाना खान टेबल र कुर्सीको समेत व्यवस्था छैन, उभिएरै खानुपर्छ । प्रशिक्षण गरेर फर्किएपछि खेलाडीलाई सन्तुलित भोजन आवश्यक पर्छ । तर, हाल खेलाडीले पाइरहेको पैसाले एक छाक मासु खान समेत हम्मेहम्मे पर्छ,’ अर्का एक खेलाडीले भने ।

null

काठमाडौंमै घर भएका र बाहिरी जिल्लाबाट आएका खेलाडीलाई समान पाँच सय रुपैयाँ दिनु न्यायोचित नभएको उनी बताउँछन् । ‘काठमाडौंमै घर भएका खेलाडीलाई त त्यो पैसाले डाइट खान पुग्ला, तर हामी विभिन्न जिल्लाबाट आएका खेलाडीले अन्य खर्चसमेत त्यही पैसाले धान्नुपर्ने बाध्यता छ । यो कस्तो न्याय हो ?,’ उनले प्रश्न गरे ।

मिसन– २०२६ का उपनिर्देशक दीपक श्रेष्ठ भने बजेटको अभावका कारण बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई चाहेर पनि आवश्यकता अनुसारको रकम तथा सुविधा दिन नसकिएको बताउँछन् ।

‘हामी खेलाडीको समस्यासँग परिचित छौं । तर, सरकारले हामीलाई उपलब्ध गराएको बजेट निकै कम छ । यस विषयमा सम्बन्धित निकायमा जानकारी पनि गराएका छौं,’ उनले भने ।

null

बन्द प्रशिक्षणमा रहेका कबड्डी खेलाडीलाई सुत्नका लागि खाट आकारको ढाँचा तयार पारिएको छ । खेलाडीहरू त्यसैमा मिलेर सुत्ने गरेका छन् । पुरुष खेलाडी सुत्ने माथिल्लो तलाका केही कोठामा त वर्षाको पानी समेत चुहिने गरेको पाइएको छ ।

‘गर्मी र मच्छरको समस्या त छँदैछ, त्यसमाथि केही समययता निरन्तर वर्षा भइरहेको छ । जस्ताको छानोबाट पानी चुहिएर अर्को समस्या थपिएको छ । सम्बन्धित खेल पदाधिकारीले यसतर्फ ध्यान दिए हुन्थ्यो भन्ने लाग्छ । हामी यसरी नै यातना सहेर प्रशिक्षण गरिरहेका छौं,’ उनले भने ।

समस्याका बारेमा संघका पदाधिकारीहरूसँग कुरा राख्दा उल्टै गाली खानुपरेको खेलाडीहरूको गुनासो छ ।

‘केही खेलाडीले पदाधिकारीहरूसँग गुनासो गरेका थिए । तर, उल्टै हप्काउने काम हुन्छ । तिमीहरू बस्ने भए बस, नभए क्याम्प छाडेर गए हुन्छ भन्ने रुखो जवाफ आउँछ,’ हामीलाई समस्या सुनाउन समेत हिच्किचाएका एक खेलाडीले भने ।

null

त्यहाँको वातावरणबाट विरक्तिएर केही खेलाडीले क्याम्प छाडिसकेका छन् ।

‘विभिन्न समस्या र अभाव झेल्दै खेलाडीहरूले प्रशिक्षण गरिरहेका छन् । समस्याको बारेमा कुरा उठाउँदा उल्टै गाली खानु परेपछि विभिन्न बहाना बनाउँदै केही खेलाडी प्रशिक्षण केन्द्र छाडेर घर फर्किएका छन्,’ ती खेलाडीले लोकान्तरसँग भने ।

उनका अनुसार, बागमती प्रदेशका रोहन श्रेष्ठ, लुम्बिनी प्रदेशका ईशरार खान, कोशी प्रदेशका साहिल शेख र विभागीय टोली एपीएफ क्लबका नविन लोहारले प्रशिक्षण छाडेका हुन् । अर्का एक खेलाडीले समेत प्रशिक्षण छाडे पनि उनको नाम आफूलाई याद नभएको ती खेलाडीले बताए ।

बन्द प्रशिक्षणमा रहेका जिल्लाका खेलाडीले सामान्य खर्चका लागि समेत घर–परिवार गुहार्नुपर्ने अवस्था रहेको अर्का एक खेलाडी बताउँछन् ।

‘हामी अधिकांश खेलाडीको आर्थिक अवस्था राम्रो छैन । तर, सामान्य खर्चका लागि समेत परिवार गुहार्नुपर्ने अवस्था छ । बुवा–आमासँग पैसा माग्नु पर्दा हामी आफैंलाई पनि लाज लाग्छ,’ उनले भने ।

nullप्रशिक्षणरत पुरुष टोलीमा अधिकांश खेलाडी जिल्लाका छन् । महिला टोलीमा भने आधाजसो खेलाडी विभागीय टोलीका छन् । पछिल्लो समय महिला कबड्डी खेलाडी भारतमा आयोजना हुने दोस्रो महिला कबड्डी विश्वकपको तयारीमा समेत व्यस्त छन् ।  

महिला कबड्डी विश्वकप अर्को महिना भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि नेपाल कबड्डी संघले नेपाली टोलीको घोषणा समेत गरिसकेको छ ।

एकातिर, महत्त्वपूर्ण प्रतियोगिताका लागि खेलाडीहरू अस्वस्थकर वातावरणमा रहेर तयारी गरिरहेका छन् भने अर्कातिर, प्रशिक्षण स्थलको अवस्था पनि सन्तोषजनक छैन ।

कबड्डीका एक प्रशिक्षकका अनुसार, पहिले खेलाडीलाई कागेश्वरी मनोहरा– ७ मै रहेको एउटा खुला चौरमा प्रशिक्षण गराइन्थ्यो । तर, वर्षाका कारण त्यो चौरमा पानी जमेपछि अहिले वडा कार्यालयनजिकै रहेको ब्याडमिन्टन हलमा प्रशिक्षण गराइँदै छ ।

‘नगरपालिकासँग अनुरोध गरेर ब्याडमिन्टन हल मागेका छौं । त्यसैमा प्रशिक्षण गराइरहेका छौं । त्यो ब्याडमिन्टन हल पनि कबड्डीको मापदण्ड अनुसारको छैन । हामीलाई चाहिनेभन्दा सानो स्थान छ । जेनतेज प्रशिक्षण चलिरहेको छ,’ ती प्रशिक्षकले लोकान्तरसँग भने ।

null

यसले खेलाडीको प्रदर्शनमै प्रभाव पार्ने भए पनि आफूहरूसँग अर्को विकल्प नरहेको उनको भनाइ छ ।

‘खेलाडीले कहिले जिमका लागि सातदोबाटो पुग्नुपर्छ, त्यसका लागि दुईवटा गाडी चेन्ज गर्नुपर्छ । कहिले मेडिकलका लागि त्रिपुरेश्वर पुग्नुपर्छ । यस्तो खर्च पनि खेलाडी आफैंले गर्नुपर्छ । वास्तवमै बन्द प्रशिक्षणमा रहेका हाम्रा खेलाडीहरू मारमा परेका छन्,’ ती प्रशिक्षकले थपे ।

नेपाल कबड्डी संघका महासचिव अरविन्द झा आर्थिक समस्याका कारण यस्तो स्थिति सिर्जना भएको बताउँछन् । राखेपले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई उपलब्ध गराउने पैसा निकै कम भएकाले सोही अनुरूप व्यवस्था गर्नुपर्दा समस्या परेको दाबी उनले गरे ।

‘कबड्डी संघलाई अन्य खेल संघजस्तो अन्तर्राष्ट्रिय अनुदान आउँदैन । संघको आर्थिक अवस्था कमजोर छ । हाम्रो आफ्नै एकेडेमी पनि छैन । सरकारले खेलाडीलाई उपलब्ध गराउने पैसाबाटै व्यवस्थापन गर्नुपर्छ । हामीले केही सहयोग खोजेर यतिसम्म पनि व्यवस्थापन गरेका हौं,’ उनले लोकान्तरसँग भने ।

null

उनका अनुसार, कागेश्वरी मनोहरा नगरपालिकाले कबड्डी संघलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको र सोही जग्गामा एकेडेमी भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘अवस्था सधैँ यस्तै नरहला, नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । त्यसपछि हामी आफ्नै एकेडेमी भवन बनाउने तयारीमा छौँ,’ उनले थपे ।

भविष्यका लागि ठूला योजना सुनाए पनि अहिलेको समस्या समाधानमा भने उनले निरीहता प्रकट गरे ।

salt training

कमेन्ट गर्नुहोस्