
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका रूपमा चिनिँदै गएको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा द्रुत विकास भइरहेको जानकारी दिए । 'अस्थायी प्रहरी चौकीको माग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नति/स्थापनाको बढी माग छ,' उनले भने, 'नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।'
नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको उल्लेख गर्दै गृहमन्त्री लेखकले केही दिनपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पुनः विधेयकमाथि छलफल शुरू हुने बताए ।
'प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाएर अवकाशमा जाने व्यवस्था विधेयकमा गरिएको छ,' उनले भने, 'प्रहरीको उच्च मनोबलका साथ कार्य दक्षता बढ्न सकोस् भनेर प्रहरी सङ्गठनलाई तुलनात्मक रुपले आगामी आवका लागि बढी बजेट विनियोजन गरिएको छ ।'
आमनागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न गृहमन्त्री लेखकले निर्देशन दिए ।
अनलाइन सचेतना कक्षा सञ्चालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यात्मक अवस्था हट्ने विश्वास लिइएको छ ।