
मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले स्थलमार्गबाट नेपाल आउने पर्यटकलाई झन्झट नदिन प्रदेश अन्तर्गतका जिल्लालाई पत्राचार गरेको छ ।
मन्त्री वसन्त कुशवाहाले आइतबार सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका सीडीओहरूलाई भारतीय पर्यटकलाई सहज वातावरणमा नेपाल प्रवेश गराउन आवश्यक व्यवस्था मिलाउन आग्रह गर्दै आइतबार पत्राचार गरेका हुन् ।
‘सीमामा सुरक्षा चेक जाँचलगायतका नाममा अनावश्यक समस्या देखिने र उचित व्यवस्थाको अभाव हुँदा पर्यटकहरू गुनासो गर्दै आएका छन् । त्यसैले भारतबाट आउने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ ।
सो पत्र केन्द्रको गृह मन्त्रालयलाई पनि बोधार्थ पठाइएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई नाकाहरूमा झन्झट दिने काम रोक्न स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।