१७ असार २०८३, बुधबार

असार सकिनै लाग्दा कोशीका आधाभन्दा कम क्षेत्रमा मात्रै धान रोपाइँ

असार ३०, २०८२
काठमाडौं
असार सकिनै लाग्दा कोशीका आधाभन्दा कम क्षेत्रमा मात्रै धान रोपाइँ
फाइल तस्वीर

गत वर्षको यसै अवधिको तुलनामा कोशीमा २० प्रतिशत कम क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यो वर्ष पानी कम पर्दा धान रोपाइँ प्रभावित भएको हो ।

असार २८ गते (शनिबार)सम्म ४१ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय कोशीले जनाएको । गत वर्षको यसै अवधिमा ६१ प्रतिशत खेतमा रोपाइँ भइसकेको थियो । न्यून वर्षा हुँदा किसानले धान रोपाइँ गर्न नपाएको केन्द्रले जनाएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार, प्रदेशभर यो वर्ष कूल ३ लाख २३ हजार ९७९ हेक्टर धान रोप्ने क्षेत्रमध्ये यस वर्ष १ लाख ३४ हजार ४५४ हेक्टरमा मात्र रोपाइँ भएको छ । यसरी १ लाख ८९ हजार ५२५ हेक्टर क्षेत्रफल अझै बाँझो रहेको छ । गत वर्षको यसै अवधिमा १ लाख ९८ हजार ८१८ हेक्टरमा रोपाइँ भइसकेको थियो ।

असार २२ गतेसम्म २९.५४ प्रतिशत रोपाइँ भएको कोशीमा एक साताको अवधिमा अवधिमा ११.५ प्रतिशत क्षेत्रमा रोपाइँ भएको हो । जबकि गत वर्ष असार अन्तिम साता २७ प्रतिशत रोपाइँ भएको थियो ।

कोशी प्रदेशको उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र तेह्रथुममा असार अन्तिम सातासम्म ३९.७१ प्रतिशत मात्र रोपाइँ भएको छ । मध्यपहाडका ८ जिल्लामा ५१.२७ प्रतिशत रोपाइँ भएको छ ।

सबैभन्दा कम रोपाइँ कोशीको तराईमा पर्ने झापा, मोरङ र सुनसरीमा भएको छ । तीन जिल्लामा जम्मा ७३ हजार ३८१ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । तीन जिल्लामा १ लाख ९३ हजार २८५ हेक्टर जमिनमा धानखेती हुन्छ ।

जेठ दोस्रो र तेस्रो साता राम्रो वर्षा भएपछि किसानले राखेको धानको बिउ हुर्किसकेको छ । तर, समयमा रोपाइँ गर्न नपाउँदा धानको बिउ खेतमै सुक्ने चिन्ताले किसानलाई पिरोलेको छ । बिउ राखेको २२ दिनपछि रोपाइँ गर्नुपर्नेमा महिना कट्दा पनि किसानले रोपाइँ गर्न पाएका छैनन् ।

उच्च पहाडी जिल्ला सोलुखुम्बुमा सबैभन्दा कम २३ प्रतिशत, ओखलढुंगामा ३४ प्रतिशत र खोटाङमा २८ प्रतिशत मात्र रोपाइँ भएको छ । विगत वर्षमा असार अन्तिमसम्म पहाडी क्षेत्रमा झण्डै ७५ प्रतिशत रोपाइँ भइसक्थ्यो । यो वर्ष पहाडी क्षेत्रमा पनि पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन सकेको छैन ।

तराईंका जिल्लामा पनि न्यून मात्र रोपाइँ भएको छ । सुनसरीमा ६१ प्रतिशत, मोरङमा ३७ प्रतिशत र झापामा ४३ प्रतिशत रोपाइँ भएको छ । सुनसरीमा गत वर्षको तुलनामा २१ हजार ३९८ हेक्टर कम रोपाइँ भएको हो ।

मोरङमा ३७ हजार ३८६ हेक्टर र उदयपुरमा ७ हजार २९९ हेक्टर क्षेत्रफल रोपाइँ हुन बाँकी छ । सुनसरीमा ५५ हजार २९७ हेक्टरमध्ये ३३ हजार ८९९ हेक्टरमा रोपाइँ भएको छ ।

सुनसरी मोरङ सिँचाइ आयोजनाले समेट्ने क्षेत्रको पनि सबै ठाउँमा रोपाइँ हुन सकेको छैन । उच्च जमिनमा सिँचाइ सुविधा भए पनि राम्ररी पानी चढ्दैन । त्यस्ता ठाउँमा किसानले आकासे पानीमै भर गर्ने गरेका छन् ।

तुलनात्मकरूपमा भोजपुरमा बढी रोपाइँ भएको छ । भोजपुरमा ५८ प्रतिशत रोपाइँ भएको विभागले जानकारी दिएको छ ।

रोपाइँमा ढिलाइ भएपछि धान उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने विज्ञहरूको भनाइ छ । समयमा रोपाइँ गर्न नपाउँदा दानाको गुणस्तर घट्ने र उत्पादनमा १५ देखि २० प्रतिशतसम्म कमी आउने समस्या हुन्छ ।

कोशी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले कम वर्षा हुँदा यो वर्ष धान रोपाइँमा कमी आएको बताउँदै उत्पादन असर हुनसक्ने बताए । मनसुन सक्रिय भएमा अझै पनि तराई क्षेत्रमा रोपाइँ गर्न समय भने छ । झापा, मोरङ र सुनसरीमा साउनभर रोपाइँ गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्