
उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले आज अपरान्ह आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।
त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत कोर्तभालले फ्रान्स–नेपालबीचको ७६ वर्षदेखिको पारस्परिक सम्बन्ध वर्तमानमा अझ सुदृढ बन्दै गएको चर्चा गर्दै हालै सम्पन्न द्विपक्षीय परामर्शमा जलवायु परिवर्तनका क्षेत्रमा साझेदारी बढाउने बारेमा गहन छलफल भएको बताइन् ।
अन्नपूर्ण आरोहणको ७५औं वार्षिकोत्सव यस वर्ष परेकाले वर्षभरि पर्वतीय विषयमा केन्द्रित रहेर दुई देशले विविध कार्यक्रम आयोजना गरिरहेको बताउँदै फ्रान्सेली राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।
त्यस अवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका फ्रान्सेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।