
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मंगलबार बिहान ११ बजे बालुवाटार पुगेर मन्त्री गुप्ताले राजीनामा दिएका हुन् ।
कास्कीको मालपोत अधिकृत सरुवाका लागि बिचौलियासँग घुस डिल गरेको अडियो लिक भएपछि मन्त्रीले राजीनामा गरेका हुन् । सोमबार बालुवाटारमा भएको भेटमा ओलीले २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए ।
‘प्रधानमन्त्रीज्यूले हिजो नै २४ घण्टाभित्र राजीनामाका लागि निर्देशन दिनुभएको थियो । मन्त्रीले मंगलबार राजीनामा दिनुभएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो । सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकमा पनि गुप्तालाई राजीनामा गराउनेबारे छलफल भएको थियो ।
गुप्ता २०८१ असार ३१ गते सामान्य प्रशासन मन्त्री बनेका थिए ।
पर्सा ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित गुप्तालाई एमालेले मन्त्री बनाएको थियो ।
घुस प्रकरणपछि विवादमा तानिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न स्वयं सत्तापक्षका सांसदहरूले समेत आग्रह गरेका थिए । कांग्रेस महामन्त्री गगन थापाले गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।
विपक्षी दलले पनि मन्त्री गुप्ताको राजीनामा माग गरेका थिए । कांग्रेस–एमाले गठबन्धन सरकार बनेयता विवादमा परेर राजीनामा दिनेमा गुप्ता पहिलो मन्त्री बनेका छन् ।