०२ साउन २०८३, शनिबार
विवादित मन्त्रीको राजीनामा

प्रधानमन्त्रीको निर्देशनपछि घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

असार ३१, २०८२
काठमाडौं
प्रधानमन्त्रीको निर्देशनपछि घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मन्त्री गुप्ताले मंगलबार बिहान राजीनामा दिएको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो ।

स्रोतका अनुसार यसअघि सोमबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार मन्त्री गुप्ता आज राजीनामा बुझाएर हिँडेका हुन् । 

प्रधानमन्त्री ओली सिनेटको बैठकमा भएकाले मन्त्री गुप्ता प्रधानमन्त्रीका स्वकीय राजेश बज्राचार्यलाई पत्र बुझाएर हिँडेका हुन् । ‘मन्त्रीको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले उहाँसँग सोधखोज गर्नुभएको थियो । हिजो बिहानको बालुवाटारमा भएको सोधखोजका क्रममा प्रधानमन्त्रीले २४ घण्टाभित्र राजीनामा दिन निर्देशन गर्नुभएको थियो,’ प्रधानमन्त्री ओली निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रधानमन्त्री सिनेटको कार्यक्रममा हुनुहुन्थ्यो । त्यसैले मंगलबार बिहान ११ बजेतिर बालुवाटार आएर प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यलाई एउटा पत्र बुझाएर मन्त्री गुप्ता निस्कनुभएको छ ।’

राजीनामा नदिए हटाउने तयारी प्रधानमन्त्रीको थियो । 

आफूलाई नखाएको विष लागेको भन्दै अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको मन्त्री गुप्ताले बताए । 'कहिले काही नखाएको बिष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्मान्नीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु,' उनले भनेका छन् ।

मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादित बनेका थिए ।

अडियो बाहिरिएपछि प्रधानमन्त्री ओलीले यसअघि पनि गुप्तासँग सोधखोज गरेका थिए । 

आफूलाई फसाउने नियतले पैसाको पोको नै मन्त्री क्वार्टरमा छोडेर अडियो बनाएको दाबी गुप्ताले गरेका थिए । मन्त्री गुप्ताले  अडियो काण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकारेका थिए ।

प्रधानमन्त्री ओलीलाई मौखिक स्पष्टीकरण दिँदै मन्त्री गुप्ताले पैसा क्वार्टरमै भेटिएको स्वीकारेका थिए । यद्यपि, सो पैसा आफूलाई फसाउनका लागि क्वार्टरमा छाडेर त्यसअनुसारको अडियो रेकर्ड गरिएको हुन सक्ने उनको दाबी थियो ।

स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको हो । मन्त्री गुप्ताले यस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मुछेका छन् । गुप्ताले बिहान ६ बजे नै रञ्जिता र उनका मान्छेले मन्त्री क्वार्टरमा आएर पैसा छाडेर फसाउन खोजेको आरोप लगाएको स्रोतले बतायो ।

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ ।

उनी पर्सा क्षेत्र नम्बर- ३ बाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद हुन् ।

यो पनि पढ्नुहोस

salt training

कमेन्ट गर्नुहोस्