
बंगलादेशको राजधानी ढाकामा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा मंगलबार नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपाली टोलीले आफ्नो तेस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ ।
नेपाल र श्रीलंकाबीचको खेल राति १८:४५ बजे बसुन्धरा किङ्स एरिनामा शुरू हुनेछ । यो खेलमा नेपाली टोली जित्नैपर्ने दबाबमा रहने छ । नेपालले यसअघि खेलिएका दुईमध्ये एक खेलमा जीत र एक खेलमा हारको नतिजा निकालेको छ ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि पूर्णिमा राई एक्लैले चार गोल गरेकी थिइन् । बाँकी दुई गोल भने सेनु परियारले गरेकी थिइन् ।
नेपाली टोली आफ्नो दोस्रो खेलमा भने तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग २-३ गोलले पराजित भएको थियो । खेलको प्रारम्भमै दुई गोल खाएको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
तर, अन्तिम समयमा चुक्दा नेपाली टोली तीन अंक गुमाउन बाध्य भएको थियो । नेपालले दोस्रो हाफको इन्जुरी समयमा तेस्रो गोल खाएको थियो । उक्त खेलमा नेपालका लागि अनिषा राई र मीना देउवाले एक-एक गोल गरेका थिए ।
प्रतियोगितामा चार टोली सहभागी छन् । चारवटै टोलीलाई एउटै समूहमा राखिएको छ । सहभागी सबै टोलीले एक-अर्कासँग दुई-दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
हालसम्म चारवटै टोलीले दुई-दुई खेल खेलिसकेका छन् । ६ अंकसहित बंगलादेश पहिलो र तीन अंकसहित नेपाल दोस्रो स्थानमा आसिन छन् । तीन अंक बटुलेको भुटान तेस्रो स्थानमा छ । चौथो स्थानमा आसिन श्रीलंका भने दुवै खेलमा पराजित भएको छ ।
नेपाली टोलीले आफ्नो चौथो खेल बिहीबार श्रीलंकासँगै खेल्नेछ । नेपालले आफ्नो पाँचौं खेल शनिबार भुटानसँग खेल्नेछ । त्यसपछि आगामी सोमबार नेपाली टोलीले आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।
जारी प्रतियोगितामा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा नेपालकी पूर्णिमा राई संयुक्त रूपमा पहिलो स्थानमा छन् । उनले चार गोल गरिसकेकी छन् । बंगलादेशकी मोसामत सागोरिकाले पनि चार गोल गरेकी छन् । यी दुवै खेलाडीले जारी प्रतियोगितामा ह्याट्रिक पनि गरेका छन् ।