
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको बताएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूको सवालको जवाफ दिँदै मन्त्री खड्काले यस बाढीबाट क्षति पुगेका चिलिमे, देवीघाट, त्रिशूली, सूर्यकुण्ड, बुद्धभूमि, अपरमौलुङलगायतका कूल ९० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजना सञ्चालनमा ल्याइएको जानकारी दिए ।
६० मेगावाट क्षमताको त्रिशूली ‘ए’ जलविद्युत् आयोजना केही दिनमा नै सञ्चालन हुने उनले बताए । यस्तै, बढी क्षमताका आयोजनालाई चाँडो सञ्चालनमा ल्याउन काम शुरू भइसकेको मन्त्री खड्काको भनाइ थियो ।
‘सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना संरचनालाई सञ्चालनमा ल्याउन केही समय लाग्छ’, उनले भने, ‘बाढीबाट उक्त आयोजनामा बढी क्षति पुगेको थियो । यसको ‘हेडवर्कस’मा पूर्णरूपले क्षति पुगेको छ । यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउनेगरी काम शुरू गरिसकेका छौं ।’
सभाको अघिल्लो बैठकमा मन्त्री खड्काले रसुवा बाढीबाट त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका विद्युत् आयोजना र प्रसारण संरचनामा गम्भीर क्षति हुँदा त्यसबाट करिब २६० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा विच्छेद रहेको जानकारी दिएका थिए । उनले अहिले उक्त क्षेत्रमा बाढीको बहाव केही घट्दो क्रममा रहे पनि जोखिम यथावत् रहेको भन्दै सचेत रहन आग्रह गरे ।
विस्तृत अध्ययन तथा मूल्यांकन कार्य अघि बढाइएको जानकारी दिँदै मन्त्री खड्काले सावधानीका सबै उपाय अवलम्बन गरेको उल्लेख गरे ।
‘पूर्वसूचना प्रणालीलाई थप प्रविधिमैत्री, सक्रिय र प्रभावकारी बनाउँछौं’, उनले भने, ‘हिमतालको जोखिम मूल्यांकन तथा अनुगमनलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ ।’