
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकोमा नगरसभाबाटै बधाई दिइएको छ ।
१७औं नगरसभाको दोस्रो अधिवेशनमा बुधबार नगरसभा सदस्य शर्मिला परियारले आफ्नो सम्बोधनका क्रममा उपप्रमुख डंगोल उक्त कार्यक्रमका लागि छनोट भएकोमा नगरसभा सदस्यलाई उठेर बधाई दिन आग्रह गरिन् । ‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगरसभाबाट किन बधाई नभन्ने’ भन्दै यस सभाले हार्दिक बधाई ज्ञापन गर्दछ भनिन् ।
उनले त्यसो भनेपछि मेयर बालेन साहसहित सबै नगरसभा सदस्यहरू उठे । मेयर बालेनले शुरूमा बसेरै ताली बजाएका थिए । तर पछि उनले पनि उठेर ताली बताए ।
ताली बज्न रोकिएपछि परियारले उपप्रमुखले पाएको सम्मानले सबैलाई प्रेरणा थपेको भन्दै खुशी व्यक्त गरिन् ।
संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीतिलगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानोटमा परेकी हुन् ।
डंगोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् ।
डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन् ।
वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन् ।