
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ ।
दुई हजार दुई सय मिटर लामो उक्त सडक निर्माणको ठेक्का विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले लिएको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण उक्त सडक समयमा विस्तार र स्तरोन्नति हुन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
कार्यालयका इञ्जिनीयर किरण सुवेदीले उक्त सडक निर्माणमा हालसम्म ७० प्रतिशत भौतिक र ६६ प्रतिशत वित्तीय प्रगति भएको बताए । गत वैशाख दोस्रो सातादेखि अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सुरू गरिए पनि पहिलो चरणको कालोपत्र अझै नसकिएको उनको भनाइ छ ।
हरिचोकतर्फबाट सुरू भएको पहिलो तहको कालोपत्र अन्तिम चरणमा पुगेको उनको भनाइ छ । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माण प्रभावित बनेको इञ्जीनीयर सुवेदीले बताए ।
उक्त खण्डको दुवैतर्फ चार लेनको सडक चार वर्षअघि नै बनिसकेको थियो । बीचको खण्ड जीर्ण हुँदा प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यातायात सेवा असहज बन्दै आएको छ । सडक कच्ची र अस्तव्यस्त हुँदा सवारी जामको समस्या र दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायीको गुनासो छ ।