
प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक आर्थिक वर्ष शुरू हुनुअघि नै विश्वविद्यालयहरूमा बजेट पारित गर्ने काम भएको बताएका छन् ।
बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले विश्वविद्यालयहरूलाई थितिमा चलाउन आर्थिक वर्ष शुरू हुनुअघि नै सिनेटले बजेट पारित गर्ने काम सम्पन्न भएको बताएका हुन् ।
आफ्नो पछिल्लो एकसाता यसैमा वितेको उनको भनाइ छ । अब सबै विश्वविद्यालयहरूले निर्धारित कार्यक्रम सम्पन्न गर्ने उनले विश्वास लिएका छन् ।
'वितेको हप्ता मेरो अधिकांश समय विश्वविद्यालयहरूको सिनेट बैठकमा बित्यो । यसपटक विश्वविद्यालयहरूलाई थितिमा चलाउन आर्थिक वर्ष शुरू हुनुअघि नै सिनेटले बजेट पारित गर्ने काम सम्पन्न भयो । विगतमा पहिले खर्च गर्ने, आर्थिक वर्ष सकिन लाग्दा बल्ल खर्च अनुमोदन गर्ने विकृति थियो,' उनले लेखेका छन्, 'आजदेखि शुरू हुने नयाँ आर्थिक वर्षका लागि सबै विश्वविद्यालयहरूले बजेट र कार्यक्रम पारित गराएका छन् । यसका लागि धेरै समय दिनु परेको भए पनि सन्तुष्टि मिलेको छ। अब सबै विश्वविद्यालयहरूले निर्धारित कार्यक्रम सम्पन्न गर्नेछन् भन्ने विश्वास बढेको छ।'