०३ साउन २०८३, आइतबार

विराटनगर महानगरको गत वर्षको बजेट फेल खायो, आम्दानी र खर्चको अनुमानमा सवा अर्ब अन्तर

साउन १, २०८२
विराटनगर
विराटनगर महानगरको गत वर्षको बजेट फेल खायो, आम्दानी र खर्चको अनुमानमा सवा अर्ब अन्तर

विराटनगर महानगरपालिले गत आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट र उपलब्धिबीच ठूलो अन्तर देखिएको छ । महानगरले गरेको आम्दानी र खर्चको अनुमानमा झण्डै १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको असन्तुलन देखिएको हो । यसले महानगरले गत आवका लागि ल्याएको बजेट अनुमान फेल खाएको हो ।

महानगरले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरेको कुल बजेटको ६४ प्रतिशत रकम मात्र खर्च गरेको छ । महानगरले अनुमान गरेअनुसार आम्दानी गर्न नसक्दा विनियोजित शीर्षकमा खर्च गर्न नसकेको हो ।

महानगरले आर्थिक वर्ष २०८१–८२ मा ३ अर्ब ४९ करोड ९८ लाख रपैयाँ आम्दानी हुने अनुमान गरेको थियो । त्यति नै खर्च गर्नेगरी बजेट ल्याएको थियो  ।

तर अनुमान गरेअनुसार आम्दानी भने गर्न नसक्दा खर्च घटेको हो । अनुमान गरेअनुसार यथार्थमा आम्दानी गर्न नसकेपछि ६४.४५ प्रतिशत रकम मात्र खर्च भएको हो । असार मसान्तसम्म २ अर्ब २५ करोड ५७ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

१ अर्ब ६७ करोड ३ लाख रुपैयाँ पुँजीगत खर्च अनुमान गरेकोमा जम्मा ७५ करोड ९८ लाख ४१ हजार रुपैयाँ मात्र खर्च गरेको हो । यो कुल पुँजीगत खर्च अनुमानको ४५.४९ प्रतिशत मात्र हो ।

पुँजीगततर्फ महानगरले अत्यन्त न्यून मात्र खर्च गरेको छ । कुल खर्चमध्ये चालुतर्फ ६४.५ प्रतिशत खर्च गरेको महानगरले पुँजीगततर्फ ४५ प्रतिशत मात्र लगानी गरेको हो ।

गतवर्ष महानगरले १ अर्ब ४४ करोड चालुखर्च गरेको थियो जुन पुँजीगत खर्चको झण्डै दोब्बर रकम हो ।

वित्तीय व्यवस्थातर्फ भने महानगरले शतप्रतिशत रकम खर्च भएको जनाएको छ ।  वित्तीय व्यवस्थाअन्तर्गत महानगरले तिर्नुपर्ने सावाँ तथा व्याज भुक्तनी गरेको हो । महानगरले ५ करोड १ लाख ३२ हजार रुपैयाँ यसअन्तर्गत खर्च गरेको जनाएको छ ।

यस वर्ष महानगरले आन्तरिक आम्दानीतर्फ भने गतवर्षभन्दा १ करोड ७६ लाख रुपैयाँ बढी रकम संकलन गरेको छ । कतिपय करको दर घटेको र घर तथा गोदामजस्ता पूर्वाधारको ह्रासकट्टीका कारण राजश्व आम्दानी घट्न जाने अवस्थामा पनि आन्तरिक आयमा सुधार गरेको हो ।

यद्यपि महानगरले १ अर्ब १० करोड ८६ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेकोमा ६२ करोड ७६ लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।

महानगरपालिकाले असार मसान्तसम्म आन्तरिकतर्फ घर बहाल कर १४ करोड ३२ लाख, सम्पत्ति कर १९ करोड ३४ लाख, व्यवसाय कर ७ करोड ७१ लाख, भूमिकर १ करोड ५८ लाख, पूर्वाधार उपयोग कर २ करोड ७० लाख, नक्सापास दस्तुरबाट २ करोड ८५ लाख, पार्किङ शुल्कबाट १ करोड ३१ लाख, अन्य दस्तुरबाट ३ करोड १६ लाख र सिफारिस शुल्कबाट २ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्