
नेपाली राष्ट्रिय टीमकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले फ्रान्सेली क्लब अभान्ट ग्वेन्ग्याम्पबाट बिदाइ लिएकी छन् । क्लबमा दुई सिजन बिताएर उनले बिदा लिएकी हुन् ।
साम्बाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै क्लब र समर्थकहरूलाई धन्यवाद दिएकी छन् । ‘हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद। हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ,' उनले लेखेकी छन्, 'हामी दुवै नयाँ शुरूआतको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु। जहाँ भए पनि मेरो समर्थन क्लबलाई रहनेछ। ’
साम्बा २०८० माघमा साम्बा फ्रान्सको शीर्ष डिभिजन लिग क्लब ग्वेन्ग्याम्पमा अनुबन्ध भएकी थिइन् । दुई सिजन खेल्दा उनको क्लब पहिलो सिजन २२ खेलबाट १६ अंक जोड्दै १२ टिम सम्मिलित लिगमा १०औं स्थानमा रहेर रेलिगेसनबाट जोगिएको थियो ।
यसपल्ट भने ग्वेन्ग्याम्प तीन खेलअगाबै रेलिगेसनमा परेको थियो । साम्बाले ग्वेन्ग्याम्पको जर्सीमा अघिल्लो सिजन ६ गोल गरिन् ।
उनी अष्ट्रेलियन ए लिग क्लब वेलिङ्टन फिनिक्स एफसीमामा अनुबन्धित भएकी छिन् । ‘साम्बा’ले अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने भएकी हुन् ।
नेपाली महिला राष्ट्रिय टोलीकी कप्तानसम्मेत रहेकी उनलाई वेलिङ्टनले आगामी दुई सिजनका लागि अनुबन्ध गरेको हो । यो लिगमा अस्ट्रेलिया र न्युजिल्यान्डका क्लब खेल्ने गर्छन् । वेलिङ्टन फिनिक्स न्युजिल्यान्डको क्लब हो ।