
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार शीर्ष नेताहरूले पार्टीभित्र विधान विपरीत नेताहरूमाथि कारबाही गरिएको बताएका छन् ।
उनीहरूले पार्टीको विधि र पद्धतिको खुला उल्लंघनले राप्रपामा अपूरणीय क्षति पुगेको भन्दै पछिल्ला निर्णय सच्याउन नेतृत्वसँग माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवल शम्शेर राणा र महामन्त्री कुन्ती शाहीले संयुक्त रूपमा जारी गरेको अपिलमा पार्टी अध्यक्षबाट भएका पछिल्ला निर्णय विधान, प्रक्रिया र नैतिकता विपरीत रहेको उल्लेख छ ।
अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्ष पदबाट हटाइनु स्वेच्छाचारिता भएको उनीहरूको आरोप छ ।
त्यस्तै, उपचारका लागि भारतमा रहेका महामन्त्री डा. राणालाई संगठन विभाग प्रमुखबाट, सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट तथा केन्द्रीय सदस्य धनसुर शाहीलाई समन्वय विभागको सदस्य सचिव पदबाट हटाइनु पनि नियमविपरीत भएको उनीहरूको भनाइ छ । स्पष्टीकरण माग्ने प्रक्रिया नअपनाइ गरिएको कारबाहीले प्राकृतिक न्यायको सिद्धान्त मिचिएको बताइएको छ ।
‘यस्ता एकलौटी कारबाहीले पार्टी पंक्ति र आम जनमानसमा भ्रम र शंका उत्पन्न भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकता र कार्यकर्ताको रक्षा गर्न हामी दृढ छौं । पक्ष–विपक्षमा नलागी पछिल्ला अप्रिय घटनाबाट उत्पन्न समस्या समाधान गर्न देशभरका नेता–कार्यकर्ताले सकारात्मक भूमिका खेल्नुपर्छ ।’
