३१ जेठ २०८३, आइतबार

चार हजार चार सय ११ मुद्दा फछ्र्यौट

साउन १, २०८२
काठमाडौं
चार हजार चार सय ११ मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८१/८२ मा कुल ६ हजार ६ सय ७८ मुद्दामध्ये चार हजार चार सय ११ वटा फछ्र्यौट भएका छन्। यो संख्या कुल मुद्दाको ६६.०५ प्रतिशत हो।

गत वर्ष अदालतमा जिम्मेवारी सरेर आएका दुई हजार एक सय ३७ र नयाँ परेका चार हजार पाँच सय ४२ मुद्दा गरी ६ हजार ६ सय ७८ मुद्दा दर्ता भएका थिए। तीमध्ये दुई हजार दुई सय ६७ मुद्दा अझै बाँकी छन्।

शुरुको क्षेत्राधिकार अन्तर्गतका दुई सय २८ मुद्दामध्ये एक सय ५१ फछ्र्यौट भएका छन् भने ७७ मुद्दा अझै बाँकी छन्। पुनरावेदन दुनियाँवादी देवानी मुद्दा एक हजार आठ सय ६५ मध्ये एक हजार एक सय ३७ फछ्र्यौट भएका छन्।

पुनरावेदन दुनियाँवादी फौजदारी मुद्दा चार सय ४५ मध्ये दुई सय १५ फछ्र्यौट भएका छन् भने दुई सय ३० मुद्दा अझै बाँकी छन्। पुनरावेदन सरकारवादी फौजदारी मुद्दा एक हजार छ सय सातमध्ये एक हजार तीन फछ्र्यौट भएका छन् र छ सय चार मुद्दा बाँकी छन्।

संविधानको धारा १४४ अन्तर्गतको बन्दी प्रत्यक्षीकरणका २५, परमादेशका चार सय छ, उत्प्रेषणका एक सय ९५, प्रतिषेधका ३३ र अधिकार पृच्छाका सात मुद्दा फछ्र्यौट भएका छन्।

पछिल्लो छ महिनामा न्यायाधीशको अभावले चारवटा इजलास मात्र सञ्चालनमा रहेको उच्च अदालत जनकपुरधाममा १८ महिना पुरानो कुनै पनि मुद्दा नरहेको र एक वर्षभन्दा पुराना मुद्दा एक सय १२ मात्र रहेको जानकारी गराइएको छ। जनकपुरधाममा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका मुद्दा सुनुवाइ हुने गर्छन् भने वीरगञ्ज र राजविराज अस्थायी इजलास पनि यस अदालत मातहत रहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्