
स्रोत सुनिश्चितता नहुँदा २०६५ सालमा निर्माण शुरू गरिएको तमोर कोरिडोरको काम सुस्त भएको छ । नेपाल, भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजनामा बजेटको स्रोत सुनिश्चित नहुँदा काम सुस्त भएको हो ।
आयोजनाअन्तर्गत तमोर कोरिडोरका दुई खण्डमा काम भइरहेको छ । पहिलो खण्ड सुभाङ खोला–दोभान–ओलाङचुङगोला सडक आयोजना र दोस्रो चतारा–मुलघाट–सुभाङ खोला सडक आयोजनामा काम भैरहेको हो ।
पहिलो तराईंसँग जोडिएको (चतरा–मुलघाट–शुभाङखोला) सडक आयोजनाको ट्र्याक खुलेर कालोपत्रेको काम भइरहेको छ । जुन सामान्य गतिमा अगाडि बढिरहेको छ । तर, दोस्रो उत्तरतर्फ चीनसँग जोडिने (शुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक आयोजना भने निकै सुस्त छ ।
गत फागुनमा मात्रै ओलाङचुङगोलाबाट करिब २२ किलोमिटर माथि चीनको सिमाना टिपतला भन्ज्याङसम्म ट्र्याक खुलिसकेको छ । तर, बजेट विनियोजन निकै कम भएकोले काम सुस्त भइरहेको (शुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका सूचना अधिकारी वसन्तकुमार गाईले बताए । हिउँमा हिउँ पर्ने र बर्खामा पानी पर्ने भएकोले लामो समय काम गर्न नसकिने आयोजनामा बजेट न्यून बिनियोजन भएकोले काम सुस्त भएको उनको भनाइ छ ।
‘बर्खामा पानीले गर्दा काम हुँदैन । हिउँदमा हिउँ पर्ने भएकोले यहाँ काम गर्ने सिजन छोटो हुन्छ,’ उनले भने, ‘त्यसैमा बजेट न्यून विनियोजन भएपछि तीव्र गतिमा काम हुन नसकेको हो ।’

तमोर नदीको किनारैकिनार तेह्रथुम, ताप्लेजुङ, पाँचथर र धनकुटाकालाई जोड्ने तमोर कोरिडोर निर्माण शुरू गरेको १७ वर्ष भएको छ । कोरिडोर पूर्वीनेपालका जिल्लाहरूको विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
पूर्वीनेपालको भौगोलिक र आर्थिक रूपान्तरण गर्ने सम्भावना बोकेको तमोर कोरिडोर परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको छ ।
शुभाङ खोलादेखि ओलाङचुङगोला
तमोर कोरिडोरको उपल्लो अर्थात् उत्तरतर्फ शुभाङ खोला–दोभान–ओलाङचुङगोला सडक आयोजना हो । चीनको सिमाना तिप्तलासम्म जोडिने यो खण्ड कुल १२१ किलोमिटरको छ । शुभाङ खोलादेखि तिप्तलासम्मको ट्र्याक खोल्ने काम गत वर्ष मात्रै सम्पन्न भएको थियो । आर्थिक वर्ष २०८१/८२ सम्म ट्र्याक खुलेको सडकलाई ग्राबेल गर्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी वसन्तकुमार गाईले बताए । स्रोत सुनिश्चितता नहुँदा कामलाई तीव्र गतिमा अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।

कोरिडोरमा पर्ने लुम्बिनी पुल र टाटमेवा पुल निर्माणको भुक्तानी नै गर्न नसकिएको उनले बताए । झन्डै २१/२२ करोडको लागतमा निर्माण गरिएको पुलको रकम भुक्तानी गर्न नसकिएको उनको भनाइ छ
आर्थिक वर्ष २०८१/८२ मा दुवै पुलका लागि कुल ५०/५० लाख बजेट विनियोजन गरिएको थियो । जबकि लुम्बिनी पुलकै लागत २१ करोड हाराहारी हो भने टाटमोमा पुलको लागत साढे ९ करोड हो ।
‘यस वर्ष दुई पुल निर्माणको भुक्तानी नै गर्न सकेनौं । सडक विभागमा स्रोत सुनिश्चित माग गरेका थियौं । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट स्वीकृति दिनुपर्छ,’ उनले भने, ‘५०/५० लाखको बजेट राखिएको थियो । तर पुलको लागत नै साढे ९ करोड र २१ करोड थियो कसरी भुक्तानी गर्ने ?’
यस खण्डमा २६ वटा पुलहरू रहेका छन् । जसमध्ये अहिले २ वटा पुल निर्माण मात्रै हुन सकेका छन् ।
कोरिडोरबाट अठाराई त्रिवेणी गाउँपालिका, फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका स्थानीय बासिन्दाहरुलाई सडक सञ्जालको सुविधा दिएको छ ।
१२१ किलोमिटर खण्डमा ग्राभेलको काम सम्पन्न भइसकेपछि मात्रै सडक कालोपत्रे गर्ने ठेक्का खुलाइने उनको भनाइ छ । हालसम्म यस खण्डमा करिब ८० करोड बजेट खर्च भएको छ । यस खण्डको कालोपत्रे, सडक सुरक्षा र पेटीसहित कुल १० अर्बको लागत अनुमान गरिएको छ ।
यो कोरिडोरले नेपालको व्यापारिक र रणनीतिक महत्वलाई बोकेको छ । तराईंदेखि चीनको टिप्ताला भन्ज्याङसम्म जोडिएसँगै चीनसँगको व्यापारिक नाका थपिने छ ।
चतरा–मुलघाट–सुभाङ खोला
तराईंसँग जोडिने अर्को खण्ड चतरा–मुलघाट–सुभाङखोला सडक आयोजना हो । यस खण्डमा असार मसान्तसम्म करिब ५६ प्रतिशत बजेट खर्च भइसकेको आयोजना प्रमुख प्रदिपमणि निरौलाले बताए । हाल काम भइरहेका दुई ठेक्कामध्ये कात्तिक महिनासम्म एउटा ठेक्काको काम सम्पन्न भइसक्ने उनको भनाइ छ ।

धरानसँग अर्थात् तराईंमा जोडिने कोरिडोरको काम सम्पन्न गर्ने आगामी कात्तिक १० गतेसम्म म्याद रहेको छ । कुल ११० किलोमिटरमध्ये हालसम्म ४४ किलोमिटर सडक पिच गर्ने काम भएको उनले बताए ।
यसको अनुमानित लागत ४ अर्ब १६ करोड रुपैयाँ हो । बजेटको हिसाबले आर्थिक वर्ष २०८१/८२ को अन्तसम्म ५६ प्रतिशत बजेट खर्च भएर ४४ किलोमिटर पिच गर्ने काम भएको छ । ‘मुलघाटदेखि गणेशचोकसम्मको कुल ११० किलोमिटरको जिम्मेवारीमा ४४ किलोमिटर पिच गर्ने काम भएको छ,’ उनले भने, ‘आगामी कात्तिक १० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । दुई ठेक्कामा काम भइरहेको छ ।’
आयोजनामा कुल ८ वटा पुलहरू रहेका छन् । दुई वर्षअघि कालोपत्रे गर्न सुरु गरिएको यस खण्डमा साना गाडीहरू चलिरहेको उनको भनाइ छ ।