
सरकारी छाप दस्तखत कीर्ते गरेको आरोपमा झापा धरमपुर घर भएर काठमाडौं बस्ने सफराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खड्कालाई नियन्त्रणमा लिएको हो ।
खड्काले त्रिभुवन विश्वविद्यालय, सीटीईभीटीलगायत शैक्षिक कार्यालयसँगै बैंक तथा वित्तीय संस्थाको समेत नक्कली लेटरप्याड, रबर स्ट्याम्प बनाएर त्यसैका आधारमा नक्कली प्रमाणपत्रहरू बनाउँदै बिक्री गरेको आरोप प्रहरीको छ ।
सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्का अनुसार सफराजले ह्वाट्सएप र भाइबरमा समेत विभिन्न व्यक्तिहरूबाट अर्डर लिएर नक्कली कागज बनाउँदै आएका थिए ।
प्रहरीले महाराजगन्जस्थित सफराजको डेराबाट नक्कली छाप र कागजातसँगै प्रिन्टरसमेत बरामद गरेको छ ।
सीआइबीले सफराजलाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ ।