
महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।
जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा तेब्बर बढि ४५६ जना कैदी बन्दी राखिएको छ । अ
हिले कारागारमा २७ जना महिला, २६ जना भारतीय नागरिक बन्दी रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए । उनका अनुसार अहिले कारागारमा सबैभन्दा बढी लागुऔषधका १६७ जना कैदीबन्दी छन् ।
'कारागारमा महिला बन्दीको क्षमता २० जना र पुरुष बन्दीको क्षमता १४० जना हो,' उनले भने, 'क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको छ ।'
उनले गत पुषमा कारागारमा कैदीबन्दीको सङ्ख्या ५८० सम्म पुगेको बताए । 'अहिले अदालतले मुद्दाको फैसला छिटो गर्दा बन्दीको सङ्ख्या घट्दै गएको छ,' जोशीले भने, 'पहिलाजस्तो खुला आकाशमुनि बस्नुपर्ने अवस्था छैन हामीले पाल र टीनको व्यवस्था गरेर भएरपनि कैदीबन्दी राखेका छौँ ।'
कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागुऔषधका सेवनका कारण अन्य अपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय अपराधिक कटना बढेको बताए ।
उनले लागुऔषधका कारण पनि अपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको बताए ।