२३ असार २०८३, मंगलबार
हिमालय माविको ७५ वर्षे यात्रा

आठ सचिवदेखि दर्जन बढी सहसचिव, सांसद र मन्त्री उत्पादन गर्ने दुर्गम पहाडको जीवन्त स्कूल

साउन ३, २०८२
विराटनगर
आठ सचिवदेखि दर्जन बढी सहसचिव, सांसद र मन्त्री उत्पादन गर्ने दुर्गम पहाडको जीवन्त स्कूल

पूर्वी पहाडको संखुवासभा सदरमुकाम खाँदबारीमा एउटा यस्तो विद्यालय छ, जसको परिचय केवल शिक्षण संस्थामा मात्रै सीमित छैन । विद्यालयलाई निजामती कर्मचारी उत्पादनको फ्याक्ट्रीको उपमा समेत दिने गरिन्छ ।

आफ्नो ७५ वर्ष लामो इतिहास बोकेको हिमालय माध्यमिक विद्यालयले देशलाई ८ सचिव, दुई दर्जन बढी उपसचिव र सय बढी दक्ष जनशक्ति दिएको छ ।

कुनै पनि विद्यालयको सफलता मापन त्यसले उत्पादन गरेको जनशक्तिबाट हुन्छ, यसमा हिमालय मावि अद्वितीय छ । यहाँबाट पढेका ८ जना विद्यार्थी प्रशासनिक तहको माथिल्लो तहमा छन् ।

निजामतीको उपल्लो तहमा पुगेका प्रेमकुमार राई, दिनेश थपलिया, ईश्वर नेपाल, सुरेश अधिकारी, अमृतबहादुर राई, दिनेश घिमिरे, रामप्रसाद घिमिरे र डा. टेकबहादुर घिमिरे हिमालय माविका गौरवशाली उत्पादन हुन् ।

विद्यालयको विवरणअनुसार, सचिव मात्र होइन, यहाँबाट पढेका २५ जनाभन्दा बढी विद्यार्थी उपसचिव र सय बढी अधिकृतहरू विभिन्न सरकारी सेवामा कार्यरत छन् ।

गत वर्ष मात्रै विद्यालयले हीरक जयन्ती मनाएको थियो । त्यतिबेला सबै सेवामा रहेका उपसचिव तथा सहसचिवहरूलाई सम्मान गर्ने लिस्ट बनाउँदा २५ जनाभन्दा बढी भएपछि उनीहरूको तथ्यांक संकलन गर्ने काम भइरहेको सहायक प्रधानाध्यापक भरत राईले बताए ।

null

विद्यालयमा पढेका विद्यार्थीमध्ये आधा दर्जन जति सांसद तथा मन्त्री पनि भएका छन् । संघीय सांसद डेडराज खड्का, टंकप्रसाद राई, पूर्णप्रसाद राई र प्रभा बज्राचार्य यही विद्यालयमा पढेका हुन्  ।

प्रदेश सभा सदस्य राजेन्द्र कार्की पनि यही विद्यालयका पूर्वविद्यार्थी हुन् । उनी प्रदेशका सामाजिक विकास मन्त्री पनि भएका थिए ।

विद्यालयलाई यहाँसम्म ल्याउन धेरैको मेहनत छ । तर, एउटा नाम सधैं श्रद्धाका साथ लिने गरिएको छ, त्यो हो जङ्गबहादुरप्रसाद ठाकुर । जसलाई यो विद्यालयका लागि प्रेरणाको स्रोतसमेत मान्ने गरिएको छ ।

भारतीय मूलका यी शिक्षकलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिले भारतबाट ल्याएको थियो । त्यो बेलाको विकट परिस्थितिमा ६ दिन पैदल हिँडेर उनी धरानबाट खाँदबारी पुगेका थिए ।

उनले नै विद्यालयमा ३२ वर्षसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । उनी एक शिक्षक मात्र होइनन्, एक कुशल प्रशासक पनि हुन् ।

उनी दूरदर्शी योजनाकार र विद्यार्थीका लागि प्रेरणाका स्रोत पनि भएको अहिलेका शिक्षकहरू बताउँछन् । आठ जना सचिव उनकै विद्यार्थी हुन् । विद्यार्थीको चौतर्फी विकासमा जोड दिएकै कारण विद्यालयले नेपालकै इतिहासमा नाम राख्न सफल भएको सहायक प्रधानाध्यापक राईले बताए ।

पढाइसँगै अतिरिक्त क्रियाकलाप, खेलकुद र सांस्कृतिक कार्यक्रमलाई अनिवार्य गरिएको उनले बताए ।  आधुनिक शिक्षण विधि अपनाएर ठाकुर सरले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर सोच्न र प्रश्न गर्न सिकाउँथे ।  ‘आज विद्यालयले जुन उचाइ हासिल गरेको छ, त्यसको बलियो जग जङ्गबहादुर सरले नै बसाल्नुभएको हो,’ सहायक प्रअ भरतले भने,  ‘आजका ती ८ जना सचिव उहाँकै उत्पादन हुन् ।  उहाँकै मार्गदर्शनमा हुर्किएका प्रतिभा हुन् ।’

विद्यालयको इतिहास पनि उत्तिकै रोचक छ । विक्रम संवत् २००६ सालमा खाँदबारीको राधाकृष्ण मन्दिरको प्राङ्गणमा ‘राधाकृष्ण आधार स्कूल’को नामबाट यसको शुरूआत भएको थियो । ज्ञानको त्यो सानो दीयोले विस्तारै ठूलो ज्वालाको रूप लिन थाल्यो ।

null

विक्रम संवत् २०१७ मा यसको नाम ‘हिमालय मिडल स्कूल’ रहन गयो र विक्रम संवत् २०२७ मा यसले हाइस्कूलको मान्यता पाएको थियो ।

समयसँगै विद्यालयले आफूलाई परिमार्जन गर्दै लग्यो । विक्रम संवत् २०५७ सालदेखि विद्यालयमा उच्च मावि तहको पढाइ शुरू भएको थियो ।

माग र समयको आवश्यकता बुझ्दै विक्रम संवत् २०६५ सालदेखि विज्ञान संकायको पनि पढाइ शुरू गरिएको थियो । विक्रम संवत् २०७७ सालबाट नर्सरीदेखि नै अंग्रेजी माध्यममा पढाइ शुरू गरेर विद्यालयले आफूलाई समयसापेक्ष बनाएको छ । आज, विद्यालयमा १४०० भन्दा बढी विद्यार्थी र ४० जना शिक्षक–शिक्षिका कार्यरत छन् ।

विद्यालयले आफ्नो गौरवशाली विगतलाई मात्र अँगालेको छैन, वर्तमानमा पनि उत्कृष्टताको यात्रालाई निरन्तरता दिएको छ । पछिल्लो पाँच वर्षदेखि यो विद्यालय एसईई परीक्षामा संखुवासभा जिल्लाको प्रथम विद्यालय बन्दै आएको छ ।

पढाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि विद्यालय अब्बल छ । लगातार दुई वर्षदेखि राष्ट्रपति रनिङ सिल्डमा प्रथम हुनुले यसको चौतर्फी उत्कृष्टतालाई प्रमाणित गर्छ ।

हिमालय माध्यमिक विद्यालय संखुवासभाको शैक्षिक गौरव, हजारौंको सपना र राष्ट्रको लागि दक्ष जनशक्ति उत्पादन गर्ने एउटा जीवन्त केन्द्र बनेको छ ।  जङ्गबहादुर ठाकुरजस्ता शिक्षकको समर्पण, कुशल व्यवस्थापन र समुदायको विश्वासको जगमा उभिएको यो विद्यालयले आज पनि हजारौं विद्यार्थीको भविष्य उज्यालो बनाइरहेको छ ।

दुर्गम पहाडको काखमा बसेर देशको प्रशासनिक र बौद्धिक क्षेत्रमा यति ठूलो योगदान दिइरहेको छ । भौगोलिक विकटताले सफलतालाई कहिल्यै रोक्न सक्दैन भन्ने सन्देश पनि हिमालय माविले  दिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्